समाचार खेल ३ जेठ २०८०
साफ च्याम्पियनसिप फुटबल : नेपालसँगै भारत र पाकिस्तान पनि समूह ‘ए’

ओमकार टाइम्स

काठमाडौँ । यसै वर्ष आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह विभाजन सार्वजनिक गरिएको छ । साफ च्याम्पियनसिपको १४ औं संस्करण आगामी असार ६ देखि १९ गतेसम्म भारतको बेंगलुरुमा आयोजना हुँदैछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक गरेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह ‘ए’मा नेपालसँगै भारत, पाकिस्तान र कुवेत पनि रहेका छन् ।

यसैगरी समूह ‘बी’मा लेबनान, भुटान, बंगलादेश र माल्दिभ्स परेका छन् । भारतले चौथो पटक साफ च्याम्पियनसिप आयोजना गर्न लागेको हो । विश्व फुटबल महासंघ (फिफा)को प्रतिबन्धका कारण यो संस्करण श्रीलंकाको भने सहभागिता छैन । कुवेत र लेबनानले भने आमन्त्रित टोलीको रुपमा प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् । साफ च्याम्पियनसिपको १४ औं संस्करण बंगलादेशमा हुने भनिएको थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि प्रतियोगिता भारतमा सारिएको हो ।

साफ च्याम्पियनसिपमा भारत साविक विजेता टोली हो । नेपाल भने साविक उपविजेता हो । साफ च्याम्पियनसिपको १३औं संस्करणको फाइनलमा भारतले नेपाललाई ३—० गोलले हराएको थियो । भारतले हालसम्म सर्वाधिक ८ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । नेपालले हालसम्म २ पटक साफ च्याम्पियनसिप आयोजना गरेको छ । नेपालले सन् १९९७ र सन् २०१३ मा प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको पहिलो संस्करण भने सन् १९९३ मा पाकिस्तानमा आयोजना भएको थियो । नेपालले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।





प्रतिक्रिया