समाचार ३० भाद्र २०८०
बाल कचहरी : बालअधिकार संरक्षणका लागि ११ बुँदे घोषणापत्र जारी

रासस

बेनी ।  म्याग्दीको मालिका गाउँपालिकामा बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवद्र्धन गर्न ११ बुँदे ‘मालिका गाउँपालिका घोषणापत्र’ जारी गरिएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा मालिका–६ दरबाङस्थित जनप्रिय माध्यमिक विद्यालयमा आयोजित बाल कचहरीबाट उक्त घोषणापत्र जारी गरिएको हो ।

जिल्लास्थित सामाजिक विकास कार्यालय र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जनप्रिय माविमा रहेको जनप्रिय बाल क्लबको आयोजना, मालिका गाउँपालिकाको समन्वय र सङ्गम म्याग्दीको सहजीकरणमा आयोजित बाल कचहरीमा गाउँपालिकाका जनप्रतिनिधि, सरोकारवाला र विद्यार्थीबीच बालअधिकारको अवस्था, बालमैत्री वातावरणको आवश्यकता र बालबालिकाको संरक्षणको सन्दर्भमा बहस भएको थियो । 

उक्त छलफल तथा बहसपश्चात् सम्पूर्ण सरोकारवालाले बालअधिकारका चार स्तम्भमध्ये बाँच्न पाउने, संरक्षणको, विकासको र सहभागिताको अधिकार नैसर्गिक अधिकार भएकाले यिनको परिपालना र कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरेका विद्यालयका प्रधानाध्यापक दिवाकर सुवेदीले जानकारी दिए । उनका अनुसार घोषणापत्रमा बालविवाह, विभेद, बालमजदुरजस्ता सामाजिकविरुद्ध सामूहिक आवाज उठाउन र त्यस्ता घटनाको न्यूनीकरणमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाइएको छ । 

विद्यालयमा बालमैत्री वातावरण निर्माणमा विशेष जोड दिने, विभिन्न भौतिक संरचना निर्माण गर्दा बालमैत्री बनाउने, प्रविधिमैत्री शिक्षामा जोड दिइनेलगायत विषय घोषणापत्रमा उल्लेख गरिएको प्रधानाध्यापक सुवेदीले बताए । बाल बचहरीमा सहभागी विद्यार्थीले सरकारले विद्यालयमा उपलब्ध गराएको सेनेटरी प्याड गुणस्तरहिन रहेको, बालविवाह न्यूनीकरण हुन नसकेको, विद्यालयका संरचना बलमैत्री बन्न नसकेको, विद्यालयका क्यान्टिनमा पोषणयुक्त परिकार बन्न नसकेको गुनासो गरेका थिए ।

 कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले महिनावारीको समयमा सरसफाइ व्यवस्थापनका लागि उपलब्ध गराइदै आएको सेनेटरी प्याडको निरन्तररुपमा गुणस्तर अनुगमन गर्ने र गुणस्तरीय प्याड उपलब्ध गराउने प्रतिबद्धता जनाए ।  बिहेवारी २० वर्ष पारी’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बालविवाह जस्तो सामाजिक कुसंस्कार तथा कानुनी अपराधको विरुद्ध एकजुट भएर लाग्न आवश्यक रहेकामा जोड दिँदै उनले शैक्षिक गुणस्तर वृद्धि गर्न भौतिक कक्षा सँगसँगै अनलाइन कक्षा र प्रविधिमैत्री शिक्षामा जोड दिइने बताए ।

बाल कचहरीमा सरोकारवालाबाट प्रतिबद्धता भएर जारी भएको घोषणापत्रलाई आगामी दिनमा व्यावहारिकरुपमा कार्यान्वयनमा लैजान निरन्तर पैरवी गर्ने गुड नेवर्स इन्टरनेश्नल नेपालका जिल्ला परियोजना संयोजक रमेश बुढाले जानकारी दिए ।

करिब एक हजार पाँच सय विद्यार्थी पुरस्कृत

राष्ट्रिय बालदिवसका अवसरमा म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा करिब एक हजार पाँच सय विद्यार्थी पुरस्कृत भएका छन् ।  राष्ट्रिय बालदिवस–२०८० का अवसरमा सामाजिक विकास कार्यालय र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा दुई पालिकामा रहेका ६७ सामुदायिक विद्यालयमा विद्यालयस्तरका चार सय ११ प्रतियोगिता सम्पन्न भएको गुड नेवर्सका जिल्ला परियोजना संयोजक बुढाले जानकारी दिए । उनका अनुसार अन्य १३ वडामा वडास्तरीय ५२ प्रतियोगिता सम्पन्न गरेर एक हजार चार सय ३९ जना बालबालिका पुरस्कृत भएका छन् ।

धवलागिरि गाउँपालिकामा गल्स फष्ट फण्डले अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोग गरेको थियो । बालदिवसका अवसरमा आयोजित प्रतियोगितामा तीन हजार पाँच सय बढी बालबालिकाको सहभागिता थियो । कार्यक्रममा बालविवाह न्यूनीकरणका विषयमा जनचेतनामूलक नाटक प्रदर्शन, विद्यालय र वडास्तरीय चित्रकला, निबन्ध लेखन, वक्तृत्वकला र मैत्रीपूण भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो ।  





प्रतिक्रिया

सम्बन्धित समाचार