समाचार १७ कार्तिक २०७९
राजस्व आम्दानी कम भएपछि कारण खोज्दै अर्थ मन्त्रालय

ओमकार टाइम्स

राजस्व घट्नको कारण खोज्न अर्थ मन्त्रालयले भन्सार विभाग र आन्तरिक राजस्व विभागसँग छलफल गरेको छ । अर्थले बिहीबार आन्तरिक राजस्व विभागसँग किन राजस्व घटिरहेको छ भन्ने विषयमा छलफल गरेको राजस्व सचिव रामेश्वर दंगालले जानकारी दिए ।

उनका अनुुसार भन्सार विभागसँग पनि आजै छलफल हुनेछ । नेपालको राजस्व प्रणाली ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत भन्सार विन्दुमा आधारित छ । भन्सार विन्दुको राजस्व लक्ष्यको ४३ प्रतिशत कम उठेको दंगालले बताए ।

यता आन्तरिकतर्फ शेयर बजार र घरजग्गा कारोबारमा मन्दी आएकाले सोबाट उठ्ने राजस्वमा समेत कम भएको उनको भनाइ छ । ‘आयात प्रतिबन्ध हुँदा अवैधानिक बाटोबाट ती सामानहरु भित्रिएको हो कि भन्ने आशंका पनि छ’, राजस्वसचिव दंगालले भने ।

अहिले चोरी पैठारी बढेको, लत्ताकपडा, चिनी जस्ता सामानमा चोरी पैठारी बढेको हुनसक्ने आशंका उनले गरे । यसका कारण पनि राजस्वमा असर परेको उनको भनाइ छ ।

सरकारले महंगा गाडी र फोनको आयात प्रतिवन्ध बैशाखयता यथावत नै राखेको छ । सोही कारण सरकारको आम्दानीमा गिरावट आएको देखिन्छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार