समाचार २७ मंसिर २०७९
बूढीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउन माग गर्दै काठमाडौंमा गोरखा र धादिङका जनप्रतिनिधि

ओमकार टाइम्स

बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउन गोरखा र धादिङका संघ, प्रदेश र स्थानीय तहमा चुनाव जितेका जनप्रतिनिधिले माग गरेका छन्।

१२ सय मेगावाटको आयोजना बनाउन गोरखा र धादिङ तर्फका घरजग्जाको मुआब्जा वितरण लगायतका काम भए भइरहे पनि आयोजना निर्माण भने सुरू हुन सकेको छैन।

गोरखा १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईं, धादिङ २ बाट निर्वाचित सांसद रामनाथ अधिकारीलगायतले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आयोजना निर्माणलाई गति दिन पहल गरिदिन आग्रह गरेका छन्।

बूढीगण्डकी आयोजना निर्माण कार्य अघि बढाउनुपर्ने र मुआब्जा वितरण लगायत बाँकी काम पनि छिट्टै पूरा गर्न गोरखा र धादिङका स्थानीय तहका प्रमुखहरूले समेत माग गरेका छन्। सांसद र स्थानीय तहका प्रमुखहरू काठमाडौं आएर प्रचण्डसँग भेटवार्ता गर्दै आयोजना अघि बढाउन पहल गरिदिन भनेका हुन्।

प्रचण्ड पनि गोरखा २ बाट चुनाव जितेका थिए। सत्ता गठबन्धनबाट गोरखा १ मा कांग्रेसका बजगाईं र २ मा माओवादीका अध्यक्ष प्रचण्ड चुनाव जितेका थिए। उनीहरूले चुनावका बेला पनि बूढीगण्डकी आयोजना निर्माणलाई अघि बढाउने प्रतिवद्धता जनाएका थिए।

बजगाईंले बूढीगण्डकी आयोजना निर्माण कार्य सरकारले अघि बढाउनुपर्ने बताए। ‘बूढीगण्डकी आयोजना निर्माण कार्य सरकारले छिटोभन्दा छिटो अघि बढाउनुपर्दछ,’ उनले भने, ‘सँगसँगै मुआब्जा वितरण तथा स्थानीयका समस्या सुनेर समाधानका लागि ठोस कदम चाल्नुपर्छ।’

आयोजना निर्माण जटिलताबारे गोरखा र धादिङका जनप्रतिनिधिबीच छलफल गरेर 'द्रुत कार्यान्वयन मार्गचित्र बनाउने' पनि उनले बताए। यसका लागि प्रतिनिधिमुलक सरोकारवालासँग बूढीगण्डकी आयोजना सेरोफेरो आरूघाटलगायत क्षेत्रमा गोष्ठीसमेत गरिने बजगाईं बताउँछन्।

प्रतिक्रिया