अन्तर्राष्ट्रिय १४ फाल्गुन २०७९
पाकिस्तान : बलुचिस्तानमा २४ घण्टामा दोस्रो आक्रमण, बम विस्फोटमा ४ जनाको मृत्यु

ओमकार टाइम्स

पाकिस्तानको बलुचिस्तान प्रान्तको एउटा बजारमा भएको बम विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु भएको पाकिस्तानको प्रहरीले जनाएको छ ।

बीबीसीसँग कुरा गर्दै बरखानका उपायुक्त अब्दुल्लाह खोसोले राखिनी बजारमा एक मोटरसाइकलमा आईईडी राखिएको ठाउँमा विस्फोट भएको बताए ।


यस आक्रमणमा कम्तीमा १२ जना घाइते भएका छन् । उपायुक्तका अनुसार घाइतेहरुलाई अस्पताल पठाइएको छ । यस विष्फोटबाट धेरै पसल र घरमा क्षति पुगेको छ ।

उपायुक्तले विष्फोटको अनुसन्धान भइरहेको बीबीसीलाई बताए । कति विस्फोटक पदार्थ राखिएको थियो र यसलाई रिमोट कन्ट्रोलबाट सञ्चालन गरिएको हो वा होइन भन्ने अनुसन्धानपछि मात्र भन्न सकिने उनले बताए ।

राखिनी पंजाबको छेउमा रहेको बरखान जिल्लाको एउटा क्षेत्र हो । यस क्षेत्रलाई लिएर पञ्जाब र बलुचिस्तानबीच पनि विवाद भएको छ । बलुचिस्तानमा पछिल्लो २४ घण्टामा यो दोस्रो विस्फोट हो ।

शनिबार राति खुजदारका एसएसपीको स्क्वाड कारलाई निशाना बनाइएको थियो । जसमा गाडी चालकको मृत्यु भएको छ भने दुई प्रहरी घाइते भएका छन् । पाकिस्तानमा प्रतिबन्धित चरमपन्थी संगठन बीएलएले आक्रमणको जिम्मेवारी लिएको छ।
 


प्रतिक्रिया

सम्बन्धित समाचार