समाचार २० चैत्र २०७९
भुटानका नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ

ओमकार टाइम्स

भुटानी शरणार्थीको नाममा परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मोरङ पथरीका केशवप्रसाद दुलाल, ललितपुर महालक्ष्मी-४ का सानु भण्डारी र पाँचथर फिदिमका टंककुमार गुरुङ छन् । प्रहरीका अनुसार उनीहरूले सयौँ नेपालीलाई शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम उठाएर ठगी गरेको खुलेको छ । 

रकम ठगेर सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा पुगेका हुन् । हालसम्म उपत्यका अपराध अनुसन्धान कार्यालयमा ८१ जनाले आफू ठगिएको निवेदन दिएका छन् । पक्राउ परेका दुलालसहितको समूहले १३ करोड ६३ लाख रुपैयाँ लिएको खुलेको छ । प्रहरी कार्यालय पुग्नेमा केही भुटानी शरणार्थीसमेत छन् । 

यसरी नक्कली शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने गिरोहका केही अझै फरार छन् । प्रहरी स्रोतका अनुसार यसरी गिरोह सक्रिय बनाउने मुख्य भूमिकामा मोरङ पथरीका केशवप्रसाद दुलाल भएको खुलेको छ । त्यस्तै, उनीबाहेक रकम असुली गिरोहका अर्का मुख्य भूमिका दाङका सन्देश पोखरेल शर्मासमेत छन् । तर, सन्देशलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । 

कर्मचारीदेखि नेताको भूमिका नै शंकास्पद 

भुटानी शरणार्थीको नाममा परिचयपत्र बनाएर ठगी गर्ने गिरोहमा गृह मन्त्रायलका केही कर्मचारीदेखि नेताहरूकै भूमिकासमेत शंकास्पद देखिएको प्रहरीले जनाएको छ । ठगी गर्ने गिरोहले भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै ठगी गरेको खुलेपछि कर्मचारीसमेत शंकाको घेरामा परेका छन् । 

उक्त प्रतिवेदन गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञ सदस्यका रूपमा गणेशबहादुर केसी र सदस्य-सचिवका रूपमा शाखा अधिकृत दीपकप्रसाद न्यौपानेको टोलीले प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदन अझै सार्वजनिक भने गरिएको छैन । 

तर, गिरोहका सदस्यहरूले राजनीतिक पहुँच र गृह मन्त्रालयकै कर्मचारीको मिलेमतोमा प्रतिवेदनमा नक्कली अनुसूची राखेर ठगी धन्दा सुरु गरेका हुन् । प्रहरी स्रोतका अनुसार पूर्वगृहमन्त्री रामबहादुर थापाको सचिवालयमा काम गरेका व्यक्तिहरूमाथि समेत प्रहरीले निगरानी बढाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार