समाचार राजनीति ११ मंसिर २०७९
सञ्चारमन्त्री कार्कीको क्षेत्र सुनसरी-४ मा पुनः मतगणना गर्न कांग्रेसको माग

ओमकार टाइम्स

सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिएका छन् ।

शनिबार (हिजो) मतगणनाका क्रममा आयोगले नै ६ सय ६ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको छ । त्यसपछि विवाद उत्पन्न भएको र अपराह्न सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा सर्वदलीय सहमति हुन नसकेपछि साँझदेखि नै मतगणना स्थगित हुन पुगेको थियो ।

लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कार्कीले एमाले पक्षले मतगणनामा धाँधली गरेको र आयोगकै मिलेमतोमा छ सय छ मत एमाले उम्मेदवारका पक्षमा जोडेको बताए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कार्कीले सो आरोप लगाउँदै सुरुदेखि नै पुनः मतगणना गर्न माग राखेका छन् । उनले आयोगकै मिलेमतोमा मत हिनामिना भएको सूचना आफूले पाएको बताए । आज बिहान पनि सर्वदलीय बैठक बसेको छ तर कांग्रेसका कार्यकर्ताले पुनः मतगणना गर्नुपर्ने माग दोहोर्‍याएपछि अहिलेसम्म गणना स्थगित छ ।

उम्मेदवार कार्कीले २३ हजार चार सय ३९ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार ३ सय ४१ मत पाएका छन् छ । कार्की कुसियतभन्दा ९८ मत अगाडि छन् । यस क्षेत्रमा जम्मा ८१ हजार दुई सय ३३ मत खसेको छ ।

प्रतिक्रिया