समाचार १२ जेठ २०८०
सिँचाइको व्यवस्था नभएसम्म कृषि क्रान्ति सम्भव छैन : रेनु दाहाल

ओमकार टाइम्स

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिँचाइको व्यवस्था नभएसम्म कृषि क्रान्ति सम्भव नरहेको बताएकी छन् ।

खगेरी सिँचाई जल उपभोक्ता समितिको २१ औ वार्षिक साधारण सभालाई उद्घाटन गर्दै प्रमुख दाहालले बाली उत्पादन गर्न सबैभन्दा पहिले सिँचाइको व्यवस्था हुनुपर्ने उल्लेख गरिन् । 

भरतपुरमा सिँचाइको १२ महिना प्रबन्ध मिलाउन दीर्घकालीन र वैकल्पिक व्यवस्थाका लागि कामहरू अगाडि बढाइएको बताइन् ।

प्रमुख दाहालले अर्थतन्त्रको मेरुदण्ड कृषि भएकाले पर्याप्त सिँचाई नभएसम्म उत्पादन वृद्धि गर्न नसकिने उनको भनाई थियो ।

कृषिमा जति नै आधुनिकीकरण, यान्त्रीकरण गरे पनि सिँचाई अनिवार्य हुनुपर्ने औँल्याइन् । 

नारायणी लिफ्ट सिँचाइको जीर्ण, यन्त्र उपकरणको जडान गर्ने कार्य रु ४० करोडमा ठेक्का भई अघि बढेको र यसको जडान पश्चात् १२ महिना सिँचाइको व्यवस्था हुने प्रमुख दाहालले बताइन् । 

पश्चिम चितवनको सुख्खाग्रस्त क्षेत्रमा ४० वटा डिप बोरिङ, एक हजार बढी स्यालो ट्युवेल जडान भई  २१ सय हेक्टरमा सिँचाइको सुविधा रहेको बताइन् ।

प्रमुख दाहालले अहिले एक खेती पनि नहुने ठाउँमा ३ पटकसम्म खेती लगाउन सकिने अवस्था बनेको बताइन् । 

भूमिगत सिँचाई परियोजनाले भरतपुरको ९ हजार हेक्टरमा सिँचाई पुराउने लक्ष्यसहित धमाधम कामहरू भएकाले लगभग ४ वर्षभित्र सबै ठाउँमा सहज रूपमा सिँचाई उपलब्ध हुने उनको भनाई थियो ।






प्रतिक्रिया