खेल ९ पौष २०७९
नेपाल टी-२० लिग आजदेखि

ओमकार टाइम्स

 पटक–पटक स्थगित हुँदै आएको नेपाल टी–२० लिग शनिबारदेखि सुरु हुँदै छ। यसअघि शुक्रबारदेखि सुरु हुने भनिएको लिग नेपाल क्रिकेट संघ (क्यान) ले प्राविधिक कारण देखाउँदै शनिबारदेखि सुरु गर्न लागेको हो।

विदेशी खेलाडीको श्रम स्वीकृति लगायतका कारण लिग यसअघि तय भएको समयमा सुरु हुन नसकेको हो। यसअघि असोज ८ देखि गर्ने लिग गर्ने भनिए पनि मिति सारिएको थियो। दोस्रो पटक मंसिर २६ देखि पुस १६ सम्म हुने बताइए पनि फेरि मिति सारिएको थियो। त्यसपछि लिग पुस ८ देखि २६ सम्म हुने जानकारी गराइएको थियो। तर प्राविधिक कारण देखाउँदै लिग पुनः एक दिन पछि सारिएको हो।

खेलाडीको श्रम स्वीकृतिको काम सकेर शनिबार नै विदेशी खेलाडीहरु मैदान उत्रिने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले दाबी गरेका छन्। शुक्रबार एक दिनमा खेलाडीको श्रम स्वीकृतिको कागजी प्रक्रिया पूरा नभए आज सबै नेपाली खेलाडी नै खेल्नेछन्। लिगमा ६ फ्रेन्चाइज टोलीले डबल राउन्ड रोविनका आधारमा स्पर्धा गर्नेछन्। लिगमा पोखरा एभेन्जर्स, काठमाडौं नाइट्स, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन्।

शनिबार हुने लिगको पहिलो खेलमा बिहान सवा नौ बजे काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ। त्यस्तै दिउँसो सवा १ बजे लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। लिगको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुनेले १० तथा चौथो हुनेले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतिक्रिया