समाचार अर्थतन्त्र २३ कार्तिक २०७९
किस्ता बढाएर ऋणीबाट असुलेको रकम फिर्ता नगर्ने बैंकको साधारणसभा रोकिने

ओमकार टाइम्स

नियमविपरीत किस्ता बढाएर ऋणीबाट असुलेको रकम फिर्ता नगर्ने बैंकले साधारणसभा गर्न नपाउने भएका छन ।नेपाल राष्ट्र बैंकले ऋणीबाट बढी रकम असुलेका बैंकहरूलाई सम्बन्धित ऋणीलाई सो रकम फिर्ता गर्न निर्देशनसमेत दिइसकेको छ । निर्देशनपश्चात बैंकहरूले रकम फिर्ता गर्न थालेको जानकारी आएको राष्ट्र बैकंकका प्रवक्ता डा. गुणाकर भट्टले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार ११ वटा वाणिज्य बैंकले १ अर्ब ८५ करोड रूपैयाँ बढी लिएको देखिएको छ । सो रकम फिर्ता गर्न निर्देशन दिएको भट्टले जानकारी दिए । उनका अनुसार साधारणसभाको लागि अनुमति लिन गएका ती बैंकको आर्थिक विवरण अध्ययनबाट बढी रकम असुलेको भेटिएको थियो ।

२६ वटै वाणिज्य बैंकको गरी साढे तीनअर्बभन्दा बढी लिएको बताइएको छ । निर्देशिकाअनुसार कुनै पनि ऋणीलाई ऋण सम्झौताभन्दा अतिरिक्त किस्ता असूल गर्न पाइँदैन । तर, ब्याजको आधारदर परिवर्तन भएको अवस्थामा भने तीन महिनामा (त्रैमासिक रूपमा) एक पटकमात्रै ब्याज परिवर्तन गर्न पाइने व्यवस्था छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले ब्याजको आधारदरमात्र नभएर किस्ताको दर समेत बढाएर ब्याज असुलेको पाइएको छ ।

आर्थिक वर्ष सकिएको ६ महिनाभित्र गत आर्थिक वर्षको साधारणसभा गर्नुपर्ने प्रावधान छ । यस आधारमा पु; मसान्त नजिकिँदै गर्दा अब बैंक तथा वित्तीय संस्थालाई साधारणसभा गर्ने चटारो छ । कम्पनीहरूले पुस मसान्तसम्म साधारणसभा गर्नुपर्ने हुन्छ । बैंकहरूले साधारणसभाको अनुमतिका लागि आफ्नो वित्तीय विवरणसहित केन्द्रीय बैंकमा माग गर्नुपर्छ ।

पछिल्लो समय बैंकहरूले मनलाग्दी ब्याज बढाएको भन्दै विरोधस्वरूप उद्योगी व्यवसायी सडकमा आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार