काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियासँगको टीट्वान्टी क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ । नेपाली टोलीमा ३ नयाँ अनुहारलाई स्थान दिइएको छ ।>
राष्ट्रिय टोलीमा सम्झना खड्का, कृतिका मरासिनी र ईश्वरी बिष्टले पहिलो पटक स्थान पाएका हुन् । सम्झना ब्याट्सउमन, कृतिका स्पिन बलर र ईश्वरी तीव्रगतिकी बलर हुन् । सुदूरपश्चिमबाट खेल्ने सम्झनाले घरेलु क्रिकेटमा उत्कृष्ट ब्याटिङ गर्दै आएकी छन् ।>
ईश्वरी पनि सुदूरपश्चिमकै हुन् । कृतिका भने यू—१९ टोलीकी कप्तान हुन् । उनले लुम्बिनीबाट घरेलु क्रिकेट खेल्दै आएकी छन् । क्यानले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।>
टोलीमा रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी रहेका छन् ।>
नेपालले मलेसियासँग उसैको घरेलु मैदानमा ५ वटा खेलको टीट्वान्टी अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ । उक्त शृंखला मे २९ तारखबाट सुरु हुनेछ । दोस्रो खेल मे ३० तारिखमा खेलिने क्यानले जनाएको छ ।>
यसैगरी तेस्रो खेल जुन १ तारिखमा, चौथो खेल जुन ३ तारिखमा र पाँचौं खेल जुन ४ तारिखमा खेलिने छ । पछिल्लो पटक नेपालले मलेसियामै गत बर्षको जुन १७ देखि २५ तारिखसम्म आयोजना भएको एसीसी महिला टीट्वान्टी च्याम्पियनसिप खेलेको थियो ।>
>
>>