समाचार अर्थतन्त्र २१ कार्तिक २०७९
राष्ट्र बैँकले पेन्सन कोषको २५ करोड रूपैयाँ ब्याजमा लगानी गर्ने

ओमकार टाइम्स

नेपाल राष्ट्र बैँकले २५ करोड रूपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैँकले आफ्नो उपदान तथा पेन्सन कोषको रकम विभिन्न बैंकहरुमा निक्षेपको रुपमा राख्ने भएको हो ।  एक सूचना जारी गर्दै केन्द्रीय बैँकले कात्तिक २७ गतेदेखि आगामी वर्ष २०८० कात्तिक २७ गतेसम्म कुल ३६६ दिनका लागि उक्त रकम मुद्दतीमा राख्न लागेको जनाएको छ ।

उक्त निक्षेप चाहने बैँक तथा वित्तीय संस्थाहरूले कात्तिक २० गतेदेखि कात्तिक २२ गते राती १२ बजेभित्र अनलाइन आवेदन दिन समेत बैँकले सूचनामा भनेको छ । आवेदकले उचित ब्याजदर प्रस्तावसहित निक्षेपका लागि आवेदन दिन सक्नेछन् ।

यद्यपि, यस्तो निक्षेपका लागि बैँकले संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुरा गरेको हुनुपर्ने, तोकिएको न्यूनतम् पुँजीकोष अनुपात कायम गरेको हुनुपर्ने र निक्षेप चाहने बैँकको निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने शर्त राखेको छ । 

सूचना अनुसार कुल निक्षेपमध्ये २० करोड रूपैयाँ ‘क’ वर्गको वाणिज्य बैंकहरुका लागि, ३ करोड ७५ लाख रूपैयाँ विकास बैंकहरुका लागि र १ करोड २५ लाख रूपैयाँ ग वर्गका वित्तीय संस्थाहरूका लागि छुट्याइएको छ ।



प्रतिक्रिया

सम्बन्धित समाचार