अपराध १६ चैत्र २०७९
३ केजी कोकिनसहित भारतीय महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

ओमकार टाइम्स

काठमाडौं । भारतको मिजोरमकी एक महिला करिब ३ केजी कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् ।४५ वर्षीया भनल्वामी चैत १४ गते हवाई मार्गबाट नयाँ दिल्ली जान लाग्दा लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट २.८८७ केजी कोकिन बरामद भएको छ । ब्यूरोका अनुसार चैत १३ गते उनी कतार हुँदै काठमाडौं आइपुगेकी थिइन् । प्रारम्भिक अनुसन्धानअनुसार भनल्वामी चैत २ गते नयाँ दिल्लीबाट इथोपिया गएकी थिइन् ।

इथोपियाबाट गुयानाको कोनाक्रि पुगेपछि त्यहाँ उनलाई उक्त कोकिन जिम्मा दिइएको थियो । उनले त्यो कोकिन भारत पुर्याउनु पर्ने थियो । गुयानाबाट मोरक्को हुँदै उनी कतारबाट काठमाडौं आईपुगेकी थिइन् । पक्राउ परेकी भनल्वामीको शारीरिक अवस्थादेखेर प्रहरी नै चकित परेको छ । उनको अनुहार पुरा जलेर टाटा बसेको देखिन्छ भने एउटा हात पनि जलेको छ ।

ब्यूरोका प्रवक्ता चक्रराज जोशीका अनुसार भनल्वामीले ४ वर्षअघि घरमा सिलिन्डर पड्किएर आफ्नो शरीर जलेको बताएकी छन् । ‘त्यतिबेला कसैले उपचार गरिदिएको रहेछ । अहिले उपचार गर्न पैसा आवश्यक परेकाले आफू कोकिनको भरिया बनेर गुयाना पुगेको बताएकी छन्’, जोशीले भनिन् । प्रहरीको सोधपुछमा भनल्वामीले आफ्नो एक छोरा र एक छोरी रहेको तर श्रीमान भने नभएको बताएकी छन् ।

प्रहरीले भनल्वामीकी नातेदार मिजोरमकै २९ वर्षीया एस्थर लाह्लिम्पुई पनि ५ केजी कोकिनसहित पक्राउ गरेको छ । लाह्लिम्पुई चैत १४ गते साँझ ठमेलबाट पक्राउ परेकी हुन् । उनी त्यसै दिन कतारबाट नेपाल आईपुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लाह्लिम्पुईले चैत ८ गते नयाँ दिल्लीबाट इथोपिया हुँदै बेनिन पुगेर उक्त कोकिन ल्याएकी हुन् । बेनिनबाट मोरक्को हुँदै कतार भएर काठमाडौं आइपुगेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार