समाचार अन्तर्राष्ट्रिय ८ फाल्गुन २०७९
पोल्यान्डको सीमाबाट रेल चढेर किभ पुगेका थिए बाइडेन

ओमकार टाइम्स

अमेरिकी राष्ट्रपति जो बाइडेन अचानक युक्रेनको राजधानी किभ पुगेका छन्। 

द न्युयोर्क टाइम्सका अनुसार बाइडेन सोमबार युक्रेनसँग जोडिएको पोल्यान्डको सीमाबाट रेल चढेर किभ पुगेका हुन्। सुरक्षाका कारण उनको भ्रमण गोप्य राखिएको थियो। ह्वाइट हाउसका अधिकारीहरूले यसअघि राष्ट्रपति बाइडेन एउटा कार्यक्रमका लागि वार्सा पुग्ने बताएका थिए।

निर्धारित योजनाभन्दा पहिला नै पोल्यान्ड पुगेका बाइडेन रेल चढेर किभ गएका हुन्।   

रूसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्न लाग्दा बाइडेनले किभ पुगेका हुन्।

किभ पुगेपछि ट्विट गर्दै बाइडेन युक्रेनको प्रजातन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको अमेरिकाको पूर्ण प्रतिबद्धता व्यक्त गर्न रूसी आक्रमणको एक वर्ष पुग्न लाग्दा आफूले आज युक्रेनको भ्रमण गरेको बताएका छन्। 

As we approach the anniversary of Russia’s brutal invasion of Ukraine, I'm in Kyiv today to meet with President Zelenskyy and reaffirm our unwavering commitment to Ukraine’s democracy, sovereignty, and territorial integrity.

— President Biden (@POTUS) February 20, 2023

एक वर्षअघि युक्रेनमाथि आक्रमण गर्दा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सजिलै युद्ध जित्ने सोचे पनि त्यस्तो हुन नसकेको बाइडेनले उल्लेख गरेका छन्। 

‘झन्डै १ वर्षअघि यो अतिक्रमण सुरू गर्दा  पुटिनले युक्रेन कमजोर छ पश्चिमाहरू विभाजित छन् भन्ने सोचेका थिए। उनले हामीलाई हराउने सोचेका थिए तर उनी पूरै गलत थिए,’ बाइडेनले भनेका छन्।  

गत वर्ष फेब्रुअरी २६ मा रूसले युक्रेनमाथि तीन तिरबाट हमला गरेको थियो। एक वर्षदेखि जारी रहेको युद्धमा अहिलेसम्म दुबैतर्फका हजारौं सैनिकले ज्यान गुमाएका छन्।

अमेरिका, बेलायतलगायत पश्चिमा र नेटो राष्ट्रहरूले यो युद्धमा युक्रेनलाई सैन्य तालिम र सामग्री दिएर सहयोग गरिरहेका छन्।

केही समयअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गरेका थिए।

बाइडेनको युक्रेन भ्रमणबारे विस्तृतमा केही खुलाइएको छैन।

प्रतिक्रिया