समाचार कला २६ मंसिर २०७९
चितवनमा जम्यो नेपथ्यको लोक रक साँझ

ओमकार टाइम्स

बत्तीका चकमन्न रंगीविरंगी धर्काहरुले आकाश र भुइँ सबैतिर तिरिमिरि उज्यालो देखाइरहेकै बेला मञ्चमा चढेका गायक अमृत गुरुङले गाउन सुरु गरे
‘आकाशैबाट के उडि आयो
भेँडाको ऊनजस्तो’
उता मञ्चको माथिल्लो भागबाट हिउँ पर्दै गरेको भान पार्नेगरि स्नो इफेक्टको प्रयोग गरिएको थियो । तल साँगीतिक उत्तेजनामा चिच्याइरहेका झण्डै साढे छ हजार दर्शकको आवाजले मञ्चको ध्वनीलाई समेत चूनौति दिइरहेको थियो । 
हेटौंडामा आयोजित अघिल्लो कन्सर्टमा ब्याण्डकै स्थापनाकालीन गीत ‘आँगनैभरि’बाट सुरु गरेको नेपथ्यले यसरी चितवनमा भने दर्शकहरु माझ लाङटाङ क्षेत्रबाट संकलित गीतलाई पहिलो प्रस्तुतिका रुपमा छनौट गरेको थियो । प्रतिक्रियामा चार वर्षपछि यस सहरमा फेरि आएको ब्याण्डलाई दर्शकहरुले भरपुर स्वागत गरे ।

चितवनका दर्शकहरुसँग नेपथ्यको सम्बन्ध निकै पुरानो हो । सबैभन्दा पहिलो कन्सर्ट यहाँ ब्याण्ड स्थापनालगत्तै गणेश चलचित्र मन्दिरमा सन् १९९५मा आयोजना गरिएको थियो । त्यो क्रम बढ्दै पछिल्लोपटक ब्याण्ड सन् २०१८ मा यहाँ प्रस्तुत भएको थियो । त्यतिबेला नारायणी नदीको किनारमा कन्सर्ट आयोजना गरिएको थियो भने यसपाला पहिलोपटक क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो ।


मैदानभरि अटाएका दर्शकहरुको भव्य र सभ्य उपस्थितिले यसरी मुलुकभरको यात्रामा निस्केको नेपथ्यको यो चौथो प्रस्तुति पनि व्यापक रुपमा सफल भएको छ । महिना दिन लामो यात्रा अन्तर्गत यसअघि विराटनगर, वीरगन्ज र हेटौंडामा यस्तै भब्य कन्सर्ट सम्पन्न भइसकेका छन् ।   


यसरी करिब डेढ दशक पुरानो गीतबाट सुरु गरेको ब्याण्डले दोश्रो गीत भने झन्डै तीन दशक पुरानो सुनाएको थियो । गीत थियो ‘छेक्यो छेक्यो देउराली डाँडा’। नेपथ्यको सबैभन्दा हिट यो गीत ब्याण्डको दोस्रो एल्बम ‘हिमाल चुचुरे’ मा अटाएको थियो ।

यो गीत सकिने बित्तिकै गायक अमृतले दर्शकहरुलाई अभिवादन गरेका थिए । ‘नारायणघाट आउँदा जहिले पनि म उहि ३० वर्ष अघिको अमृत गुरुङ हुँ जस्तो महशुस हुन्छ,’ उनले भनेका थिए, ‘भेरि भेट्ने जोग जुरेको बेला सबैलाई स्वागत छ है ।’

त्यसपछि ‘अब तपाइँहरुलाई म रोदीघरतिर लैजान्छु’ भन्दै उनले तेश्रो गीत सुनाएका थिए ‘खान्न म त लामपाते सुरती’ । यसरी धमाधम तीनवटा लोकप्रिय गीतहरु सुनाउन्जेल मंसिर अन्त्यको चिसोकै बीच पनि चितवनका दर्शकहरुमाझ ब्यापक तापक्रम फैलिसकेको थियो ।

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरू ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ ले निरन्तरता दिएका थिए । कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार