अन्तर्राष्ट्रिय ३ कार्तिक २०७९
डोनाल्ड ट्रम्पले बलात्कारको आरोप लगाउने महिलाको मानहानि मुद्दामा दर्ता गरे बयान

ओमकार टाइम्स

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मानहानीको मुद्दामा आफ्नो बयान दर्ता गरेका छन् । यो मुद्दा उनीविरुद्ध ई जीन क्यारोलले दायर गरेकी थिइन् ।

क्यारोलले डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी छिन् । तर ट्रम्पले ती आरोपहरूलाई खारेज गर्दै क्यारोलले झूट बोलेको बताएका छन् । त्यसपछि क्यारोलले उनीविरुद्ध मानहानीको मुद्दा दायर गरिन् ।

ई जीन क्यारोलले सन् १९९० को दशकमा न्युयोर्कको एक लक्जरी डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा ट्रम्पले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

जीन क्यारोलका वकिलले ट्रम्पको बयानसँग सम्बन्धित जानकारी अहिलेसम्म साझा गरेका छैनन्, तर उनले बुधबार ट्रम्पले आफ्नो बयान दर्ता गरेको भन्ने जानकारी भने दिए ।एक बयानमा, डोनाल्ड ट्रम्पका वकिल एलिना हबाले यो मुद्दा ट्रम्पविरुद्धको राजनीतिक षड्यन्त्र भएको बताए ।

यद्यपि, ट्रम्पले आफ्नो बयानमा के भने र उनी व्यक्तिगत रूपमा अदालतमा हाजिर भएका हुन् वा आफ्नो बयान भर्चुअल रूपमा रेकर्ड गरेका हुन् भन्ने अझै स्पष्ट भने भएको छैन ।

सीएनएनले आफ्नो रिपोर्टमा ट्रम्पले फ्लोरिडास्थित आफ्नो घरबाट उक्त बयान दर्ता गरेको बताएको छ ।

के हो घटना ?

न्युयोर्क म्यागजिनमा ई जीन क्यारोलले सन् २०१९ मा एउटा लेख लेखेकी थिइन् जसमा उनले सन् १९९५ मा ट्रम्पसँगको पहिलो भेटबारे बताएकी थिइन् । दुवैको भेट डिपार्टमेन्ट स्टोरमा भएको थियो ।

जीन क्यारोलका अनुसार उनले ट्रम्पलाई उपहार लिन मद्दत गरिरहेकी थिइन् र त्यही क्रममा उनी ड्रेसिङ रुममा गइन् । त्यहाँ नै ट्रम्पले उनलाई बलात्कार गरेको आरोप लागेको थियो । त्यतिबेला जीन ५२ वर्षकी थिइन् भने ट्रम्प ५० वर्षका थिए । त्यतिबेला ट्रम्पले मार्ला म्यापल्ससँग विवाह गरेका थिए ।

यद्यपि ट्रम्पले यी आरोपहरूलाई खारेज गर्दै क्यारोलले आफूले लेखेको पुस्तकको बिक्री बढाउन झूट बोलेको बताए । त्यसपछि क्यारोलले ट्रम्पविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् । त्यतिबेला ट्रम्प अमेरिकाका राष्ट्रपति थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार