राष्ट्रिय समाचार १५ असोज २०७९
लुम्बिनीका सांसदकाे बिदाई : गठबन्धनकै मन्त्रीहरूद्वारा बहिष्कार, मुख्यमन्त्रीसँग रुष्ट एमाले पनि अनुपस्थित

ओमकार टाइम्स

रुपन्देही । लुम्बिनी प्रदेशसभा सचिवालयले शुक्रबार आयोजना आयोजना गरेको सांसदहरुको बिदाई कार्यक्रम प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले घोषणा नै गरेर बहिस्कार गरे भने सत्ता पक्षका अधिकांश सांसद तथा मन्त्रीहरुले अघोषित रुपमा बहिष्कार गरेका छन् ।




स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजना गरिएको पहिलो कार्यक्रममा सत्ता पक्षका मन्त्री र सांसदहरु नै उपस्थित नभएपछि गठबन्धन दलभित्रै बढेको कलह बाहिर आएको छ । सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद र मन्त्री मात्रै देखिएका थिए । नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्रकुमार कनौडियासमेत पुगेनन् ।


सरकारको नेतृत्व गरेका माओवादी नेता कुलप्रसाद केसीको दवावमा अन्य दलसँग कुनै सरसल्लाह नगरी कार्यक्रम गरिएकाले यसो भएको मन्त्री तथा गठबन्धन दलकै सांसदहरुको गुनासो गरेका छन् ।


कांग्रेस नेता कनौडिया नगएपछि रुपन्देही, पाल्पालगायतका जिल्लाबाट प्रतिनिधित्व गर्ने कांग्रेसका मन्त्री र प्रदेश सभा सदस्य नै नगएका हुन् । दाङका राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र प्रदेश सभा सदस्य शंकर गिरी मात्रै कार्यक्रममा सहभागी थिए । अहिले प्रदेश सभामा ८० जना सदस्य छन् । जसमध्ये नेकपा एमालेका ३६, नेकपा माओवादी केन्द्रका १८, नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टी नेपालका ४, राष्ट्रिय जनमोर्चा र नेकपा एसका एक एक र स्वतन्त्र एक गरी ८० जना प्रदेश सभा सदस्य रहेका छन् । तर, कार्यक्रममा ७ जना मन्त्री र १५ जना प्रदेश सभा सदस्यको मात्रै उपस्थिति थियो ।


प्रदेशमा १३ जना मन्त्री र तीन जना राज्यमन्त्री गरी १६ जना मन्त्री छन् । जसमध्ये आधा पनि मन्त्री पनि कार्यक्रममा देखिएनन् । कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसी, कानुन मन्त्री तिलकराम शर्मा, अर्थमन्त्री कृष्णध्वज खड्का, स्वास्थ्यमन्त्री इन्द्रजीत थारु, उद्योग मन्त्री अजयबहादुर शाही, आर्थिक मामिला राज्यमन्त्री सुस्मा यादव र ऊर्जा राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ मात्रै सहभागी थिए । बाँकी अन्य मन्त्री र राज्यमन्त्री देखिएनन् ।


नेकपा एमालेले प्रदेश सभाको कार्यकाल सकिएको अवस्थामा कार्यक्रम राख्नुको औचित्य नभएको भन्दै बहिष्कार नै गरेको थियो । तर नेपाली कांग्रेसले अघोषित रुपमा बहिष्कार गरेको छ । प्रदेश सभा सचिवालयले शुभकामना आदानप्रदान तथा प्रदेश सभा सदस्यलाई सम्मानमा राखेको यो कार्यक्रम आचारसंहिता विपरीत हुने भन्दै पहिले नै आलोचना भएको थियो ।


पाँच वर्षे कार्यकालको अन्तिम समयमा प्रदेश सभा सचिवालयले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर प्रदेश सभा सदस्यको सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम राखेको हो । कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले समानुपातिक, समावेशी प्रणाली सबैभन्दा उत्कृष्ट प्रणाली भएको बताए । व्यवस्था फेल गराउन चलखेल भइरहेपनि त्यो असफल हुने समेत बताए । मुख्यमन्त्री कुलप्रसाद केसीले आफूहरुले देखाएको बाटोमा आउने प्रदेश सभा अघि बढ्नुपर्ने बताए । सभामुख पूर्णबहादुर घर्तीले संघीयता कार्यान्वनयमा लुम्बिनी प्रदेश अब्बल भएको दाबी गरेका थिए ।


प्रदेश सभाको पाँच बर्षे कार्यकालमा पेश भएका ८२ वटा विधेयकमध्ये ७२ वटा विधेक पास भएका छन् । सभामा पेश हुन ४ वटा विधेयक बाँकी छन् । विचाराधीन विधेयक तीन वटा छन् ।


 

प्रतिक्रिया