नेपालले घरेलु मैदानमा आगामी बिहीबार सुरु हुने काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्ने लक्ष्य लिएको छ । यो प्रतियोगिताका लागि नेपालले झण्डै दुई महिनादेखि तयारीसमेत गरेको छ ।>
प्रशिक्षणसँगै नेपालले विश्व भलिबलमा नै बलियो टोली रसियासँग दुई मैत्रीपूर्ण खेलसमेत खेलेको छ । यद्यपि ती मैत्रीपूर्ण खेलमा नेपालले एउटा सेट पनि आफ्नो पक्षमा पार्न सकेन । तर, नेपाली टोलीले शारीरिक र प्राविधिक रूपमा बलियो रसियाविरुद्ध राम्रो चुनौती दिँदै सकारात्मक सन्देश दिएको छ । >
नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगको तयारी धेरै राम्रो भएको उल्लेख गर्दै उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताइन् । उनले उपाधि जित्ने लक्ष्यसहित मिहिनेत पनि गरेको बताइन् । यद्यपि प्रतिद्वन्द्वी पनि बलिया र अनुभवी रहेकाले लक्ष्य सहज नरहेको स्वीकार गरिन् । घरेलु समर्थकको साथ टोलीका लागि मनोबल बढ्ने उनको विश्वास छ । >
लामो समयदेखि प्रशिक्षण प्रशिक्षणसँगै रसियाविरुद्धको खेल काभाको तयारीका लागि महत्त्वपूर्ण रहेको कप्तान अरुणा बताउँछिन् । सुरुको खेलमा रसियासँग रिसिभ र डिफेन्समा केही समस्या भए पनि त्यसलाई क्रमिक रूपमा सुधार भइरहेको उनको विश्वास छ । रसियाका खेलाडीलाई हाइट एड्भान्टेच भएर पनि उनीहरूको सर्भिस र साइटलाई रोक्न केही कठिनाइ भएको अरुणाको बुझाइ छ । >
नेपालकी कप्तान अरुणाले रसियाबिरुद्धको खेलले भारत, श्रीलंका र इरानजस्ता बलिया टोलीसँग खेल्न मद्दत पुग्ने बताइन् । रसियाविरुद्ध हाइट भएको ब्लकमा खेल्दा केही अनुभव प्राप्त भएको अरुणाले उल्लेख गरिन् । >
काभा महिला भलिबलमा नेपालका लागि महत्वपूर्ण मानिएकी प्रतिभा माली हुने छैनन् । उनी चोटका कारण लामो समयदेखि मैदान बाहिर छिन् । यद्यपि भएका खेलाडीबाट नै आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास भएको कप्तानको भनाइ छ ।>
नेपाली टोलीकी अनुभवी स्पाइकर सरस्वती चौधरीले पनि भारत, इरान र श्रीलंका निकै बलियो टोली रहेको र उनीहरूविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित्ने विश्वास व्यक्त गरिन् । उनले भारतविरुद्ध राम्रो खेल खेल्दा पनि हारको अनुभव भइरहे पनि यसपटक जित्ने प्रयास हुने बताइन् । भारतीय टोलीबाट खेल्ने तीन खेलाडीसँगको नेपाली टोलीले घरेलु लिग खेलेकाले त्यसको फाइदा पनि हुने उनको विश्वास छ । >
नेपाली महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले काभा महिला नेसन्स लिगको पूर्वसन्ध्यामा रसियाजस्तो टोलीसँग खेल्न पाउनु ठूलो अवसरको रूपमा लिएका छन् । उनले रसियासँगको मैत्रीपूर्ण खेलबाट धेरै पक्ष सिक्न पाएको बताए । >>