समाचार १० फाल्गुन २०७९
किन बन्द भयो गुण एयरलाइन्सको उडान?

ओमकार टाइम्स

गुण एयरलाइन्सका सबै उडान यही फागुन १ गतेदेखि बन्द भए। आन्तरिकतर्फ विभिन्न गन्तव्यमा उडान गर्ने गुणका जहाज यति बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका (ग्राउन्डेड) छन्।

उड्डयन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले फागुन १ गते, सोमबार गुणलाई सबै उडान रोक्न निर्देशन दिएको थियो। गुणले पाइलट तथा अन्य कर्मचारीलाई नियमित तलब उपलब्ध नगराएको जानकारी पाएपछि सबै उडान रोक्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बताउँछन्।

'उडानमा संलग्न कर्मचारीलाई तलब नदिएपछि उडान सुरक्षामा जोखिम देखियो,' प्रवक्ता निरौलाले भने, 'जोखिम मध्यनजर गर्दै हामीले गुणलाई समस्या समाधान गरेर मात्र उडान गर्न निर्देशनसहित पत्र पठाएका हौं। समस्या समाधानका लागि केही समय दिएका छौं। अर्को व्यवस्था नहुन्जेलका लागि उडान बन्द गर्न निर्देशन दिएका हौं।'

हामीले यसबारे गुण एयरलाइन्सलाई सोध्यौं।

गुणका प्रवक्ता प्रज्वल थापा भने कर्मचारीलाई तलब नदिएका कारण उडान बन्द गरिएको कुरा सत्य नभएको बताउँछन्।

'सबै कर्मचारीलाई तलब दिइरहेका छौं। बाहिर जे सुनियो त्यो सत्य होइन,' गुण एयरलाइन्सका बजार प्रमुख समेत रहेका उनले सेतोपाटीसँग भने, 'हामी जहाज बेच्ने प्रक्रियामा छौं, त्यसैले उडान बन्द गरेका हौं।'

गुण एयरलाइन्सका प्रवक्ता तथा बजार प्रमुख प्रज्वल थापा

प्रवक्ता थापाका अनुसार गुणले उडान गरिरहेका पाँचवटा जहाज पछिल्लो समय बिक्रीको प्रक्रियामा छन्। त्यसैले तिनलाई विमानस्थलमा ग्राउन्डेड गरिएको हो।

'हामीसँग भएका पाँच वटा जेटस्ट्रिम ४१ सिरिजका जहाज बेच्ने प्रक्रियाको अन्तिम चरणमा छौं। त्यसैले हाल उडान रोकेका हौं, उनले भने, 'सम्भवतः अबको एक सातामा बिक्री सम्झौता हुनेछ।' 

यी जहाज खरिदका लागि एक विदेशी कम्पनीका प्रतिनिधि अहिले काठमाडौं आएका उनले बताए। ती प्रतिनिधिले त्रिभुवन विमानस्थलमा जहाज अवलोकन गरिरहेको पनि उनको भनाइ छ।

गुणले यी जेटस्ट्रिम जहाज २०७८ सालमा यती एयरलाइन्ससँग किनेको थियो। सोही वर्ष असोजबाट पाँचवटै जहाजमार्फत गुणले विभिन्न गन्तव्यमा उडान सुरू गरेको हो। केही समय उडाएपछि यी जहाज बिक्री गर्ने र ठूला जहाज भित्र्याउने योजना कम्पनीले बनाएको थापा बताउँछन्। यो कुरा त्यति बेलै कम्पनीले बताएको पनि उनको भनाइ छ।

सोही योजनाअनुसार पाँच महिनादेखि जहाज बिक्रीको तयारी भइरहेको उनले बताए। यी जहाज गुणले करिब डेढ वर्ष उडायो।

'अब अझ बढी सिट भएका जहाज ल्याएर थप गुणस्तरीय सेवा दिने उद्देश्यले जेटस्ट्रिम बिक्री गर्न लागेका हौं,' उनले भने।

उनका अनुसार कम्पनीले पहिलो चरणमा सन् २०२३ भित्रै दुई वटा नयाँ जहाज ल्याउने छ। त्यसको केही समयमा अर्को थप्नेछ।

कुन जहाज किन्ने भन्ने चाहिँ कम्पनीले निश्चित गरेको छैन। एटिआर, बम्बार्डियर वा एम्ब्रेअर वा अन्य जहाज निर्माता कम्पनीका मध्यम आकारका, ५० देखि ७० सिट क्षमताका जहाज किन्ने योजना रहेको प्रवक्ता थापाले बताए।

जेटस्ट्रिमका पाँच जहाजले यसअघि दैनिक २२ वटा उडान गर्थे। पोखरा, भरतपुर, नेपालगन्ज, भैरहवा, जनकपुर, सिमरा, विराटनगर, तुम्लिङटार र म्याउन्टेन फ्लाइट हुन्थ्यो। यसमा पनि सबभन्दा बढी उडान काठमाडौं-पोखरामा हुने गरेको थियो। 

यी गन्तव्यमा गुणका जेटस्ट्रिमसँगै बिचक्राफ्टले पनि नियमित उडान गर्थे। 

हाल गुणसँग १८ सिट क्षमताका दुइटा बिचक्राफ्ट छन्। २०६५ सालबाट कम्पनीले यी दुई जहाजमार्फत उडान सुरू गरेको थियो। यी बिचक्राफ्ट गुणले बुद्ध एयरसँग किनेको हो।

दुईमध्ये एउटा बिचक्राफ्ट पाँच महिनादेखि र अर्को एक सातादेखि ग्राउन्डेड छ। उडान गरिरहेको बिचक्राफ्टमा एक साताअघि समस्या देखिएकाले रोकिएको प्रवक्ता थापाले बताए।

'इन्जिनमा समस्या भएकाले एउटा जहाज पाँच महिनादेखि ग्राउन्डेड छ। यसलाई सञ्चालनमा ल्याउन अझै केही महिना लाग्न सक्छ। अर्को जहाज भने मर्मतका लागि विदेशबाट पाटपुर्जा मगाएका छौं। सम्भवतः एक साताभित्र उडान सुरू हुनेछ,' उनले भने।

प्रतिक्रिया