समाचार ७ कार्तिक २०७९
कमेडियन अपूर्व क्षितिजको नाममा उठ्यो एक लाख ७६ हजार

ओमकार टाइम्स

स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंहको नाममा हालसम्म १ लाख ७६ हजार ३९० रुपैयाँ आर्थिक संकलन भएको छ । अपूर्वले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त रकम संकलन भएको जानकारी गराएका हुन् ।

विशाल गौतम, आयुष श्रेष्ठ, आदर्श मिश्रा, पूजन अधिकारीलगायतका कमेडियनले अपूर्वको न्यायको लागि भन्दै आर्थिक संकलन अभियान सुरु गरेका थिए ।

अभियानमा उठेको उक्त रकम यो देशको प्रणालीको विरोध भएको अपूर्व बताउँछन् । उनी लेख्छन, ‘अभियान अगाडि ओपनिङ ब्यालेन्स २ लाख ७ हजार ८६४ थियो भने अहिले क्लोजिङ ब्यालेन्स ३ लाख ८४ हजार २५४ पुगेको छ । यो रकम मेरो बुवा (जय शंकर सिंह) को खातामा जम्मा भएको हो । नेपाली कमेडियन तथा हाँस्य कलाकारहरुले सुरु गर्नुभएको यो अभियानमा उठेको यो रकम देशको प्रणालीको विरोध हो ।’

अपूर्वले अभियानमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै उठेको सो रकम यही मुद्दामा वकिल शुल्क र बैठकहरूमा उपयोग हुने बताए ।

जातीय सहिष्णुतामा चोट पु¥याएको आरोपमा कमेडियन सिंहलाई केही समयअगाडि प्रहरीले हिरासतमा लिएको थियो । सार्वजनिक रूपमा माफी माग्दासमेत म्याद थप गर्दै थुनामा राखेको र अदालतले दुई लाख पचास हजार रुपैयाँ लिएर धरौटीमा छाड्न आदेश दिएपछि केही कमेडियनहरुले ‘बोलेको मूल्य चुकाउन तयार’ भन्दै अपूर्वको नाममा आर्थिक सहयोग संकलन सुरु गरेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार