शेयर १४ पौष २०७९
१८ महिनामा १२ खर्ब गुमाएका लगानीकर्ताले दुई दिनमै डेढ खर्बभन्दा बढी कमाए

ओमकार टाइम्स

शेरबहादुर देउवाले प्रधानमन्त्री पद सम्हालेको दिन २०७८ असार २९ गते नेप्से इन्डेक्स २८७१.०४२ विन्दुमा अडिएको थियो । यही दिन अर्थमन्त्रीको जिम्मेवारीमा पुगे जनार्दन शर्मा । सो दिन बजार पुँजीकरण ३९ खर्ब ९३ अर्ब ७५ करोड रूपैयाँ पुगेको थियो ।

करिब १८ महिना सत्ताको बागडोर सम्हाले देउवाले । देउवा सरकार हुँदाको अन्तिम कारोबार दिन पुस ७ गते बिहीबार १८६७.२१ विन्दुमा रोकिएको थियो । यो दिन बजारको पुँजीकरण २७ खर्बभन्दा बढी थियो ।

यो आँकडा आधार मान्दा भने देउवा सरकारको पालामा बजार हजार विन्दुभन्दा बढीले तल झरेको छ । जानार्दन शर्माको कार्यकाल अवधिभर लगानीकर्ताको झण्डै १२ खर्ब गुमेको छ । बजारको गिरावटले देउवा सरकार त्यसमा पनि अर्थमन्त्री शर्मा सेयर बजारमैत्री नभएको देखाउँछ ।

पुस ७ पछि एकैपटक ११ गते सेयर कारोबार भयो । बीचमा शुक्रबार, शनिबार र आइतबार (क्रिसमस) परेकाले सेयर बजार बन्द रह्यो ।

सत्ता समीकरण फेरिएसँगै पुस १० मा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री नियुक्त भए । नयाँ बनेको सातदलीय ठबन्धनमा अर्थमन्त्रीमा एमालेका विष्णु पौडेलको कमब्याक भयो ।

सरकारको नेतृत्व फेरिँदै गर्दा सेयर बजारमा उछाल आयो । पुस ११ मा बजार पुँजीकरण २७ खर्ब ८२ अर्ब पुग्यो । बजार बढेर १९२४.०९ विन्दुमा पुग्यो । एकैदिनमा बजार ५६.८८ अंकले बढयो । लगानीकर्ताको सम्पत्ति पनि एकैदिनमा ८२ अर्बले बढ्यो । सरकार गठनसँगै आजसमेत गरी ४ कारोबार दिन चलिरहेको छ ।

नयाँ प्रधानमन्त्री र अर्थमन्त्री नियुक्तीको चर्चा सुरू भएसँगै बढ्न थालेको सेयर बजारबाट लगानीकर्ताले दुई दिनमै साढे १ खर्ब रूपैयाँभन्दा बढी कमाएका छन् ।

बजार पुँजीकरण दुई दिनमै २८ खर्ब ६८ अर्ब रुपैयाँ नाघेको छ गत साताको अन्तिम कारोबारपछि पुँजीकरण २७ खर्ब रुपैयाँमा सीमित थियो । सोमबार र मंगलबार सेयर बजारको तीव्र वृद्धिपछि बुधबार सेयर बजारमा सामान्य करेक्सन आएको छ । यद्यपि परिसूचकले १०० अंकभन्दा बढीले उकालो लागि सकेको छ ।

पौडेल अर्थमन्त्री बनेपछि लगानीकर्तामा आत्मविश्वास बढेको देखिन्छ । अर्थमन्त्रीलाई भेट्न पुगेका व्यवसायी चन्द्र ढकालले पनि अर्थमन्त्रीमा पौडेल आएपछि लगानीकर्ताको आत्मविश्वास बढेको बताए ।

२०७२ सालमा पनि सेयर बजारले उच्च विन्दु चुम्दा त्यतिबेला विष्णु पौडेलले नै अर्थमन्त्रालयको नेतृत्व सम्हालेका थिए । सेयर बजारप्रति सकारात्मक मानिएका विष्णु पौडेलकै पालामा बजारले पनि नयाँ रेकर्ड बनाइरह्यो । त्यतिबेलै बजारले १८८१ को उच्च विन्दु चुम्न सकेको हो । २०७४ पछि केपी वलीको नेतृत्वमा बनेको सरकारकै पालामा अर्थमन्त्री युवराज खतिवडा फेरिएर विष्णु पौडेल आएपछि उनकै पालामा सेयर बजार सर्वाधिक उच्च विन्दुमा पुगेको थियो । ३२०० विन्दुमा पुगेको बजार कांग्रेस माओवादीको सरकारपछि निरन्तर ओरालो लागिरहेको थियो ।

नयाँ सरकार गठनको पहिलो साताको अन्तिम कारोबार दिन बिहीबार भने सेयर बजार तलमाथि भइरहेको छ । करेक्सनतर्फ गइरहेको छ । यो समाचार तयार पार्दा सम्म (१२.४३ बजे) बजार केही बढेको छ ।

के भन्छन विज्ञ ?

विश्लेषक मुक्ति अर्याल अहिले बजारले नयाँ अर्थमन्त्रीको रूपमा पौडेललाई रुचाएको देखिएको बताउँछन् । यद्यपि अहिलेको बजार टिकाउँ हो वा होइन भन्ने चाहि बजार २ हजार विन्दु माथि उक्लिएपछि मात्र भन्न सकिने उनले बताए । अहिले मार्केटले एक्सन खोजेको अर्यालको भनाइ छ । अर्याल भन्छन, ‘अहिलेको बजार बृद्धि सन्तोषजनक भएपनि अझै एकिनका साथ बजार कता जान्छ भन्ने विश्लेषण हतारो हुन्छ ।’

अर्का विज्ञ डा. केशव श्रेष्ठ सरकारको पहिलो निर्णय नै अर्थतन्त्र र पुँजी बजारको प्राथमिकता भएकाले बजार केही सम्हालिएर माथि जाने बताउँछन् । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुल्नेवित्तिकै बजारलाई सर्पोट पुग्ने उनको धारणा छ ।

स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष ई. रोहन कार्की पछिल्लो ४ दिनको कारोबारले सकारात्मक संकेत देखिएको बताउँछन् ।

उनले नेपाल प्रेससँग भने, ‘बीचमा लगातारजसो बजार ओरालो लाग्दा लगानीकर्ताको गुमेको रकम रिकभर देखिएको छ । माघ १ देखि ब्याजदर घट्ने आशा एवं अर्थमन्त्रीले गरे सुधारका लागि गरेको कमिटमेन्टले पनि यसमा टेवा पुगेको छ ।’

पछिल्ला कारोबारले अर्थतन्त्रका विभिन्न सूचकमा सुधारको आशावादी पनि देखिएको उनी बताउँछन् ।

‘यसअघिको दुई बुल अर्थमन्त्री विष्णु पौडेलकै पालामा भएकाले उहाँ पुँजीबजारमैत्री भएको लगानीकर्तामा छाप छ । फेरि पहिलो मन्त्रिपरिषद् बैठककले पुँजी बजारलाई सम्बोधन गरेकाले हामी उत्साही छौं । व्यवसायीसँग छलफल गरेर अर्थतन्त्र सुधार्छु भनेर उहाँले कमिटमेन्ट पनि गर्नुभएको छ’, कार्की भन्छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार