समाचार १९ चैत्र २०७९
बोल्न र सुन्न नसक्नेको जग्गा धितो राखेर ठेकेदारले लिए ५० लाख ऋण

ओमकार टाइम्स

बाँके । बाँके जिल्लाको साविकको बनकटवा गाविस वडा नम्बर ९ मा रहेको एउटा सानो गोठको छेउमा केही भेँडा र बाख्रालाई घाँस–दाना दिँदै थिए एगे कामी । उमेरले ४० कटिसकेका उनी हामी त्यहाँ पुग्ने बित्तिकै नमस्कार गर्न आइपुगे । हामी त्यहाँ किन पुगेको हो, उनलाई थाहा थिएन । बोल्न नसक्ने र कान पनि नसुन्ने भएकाले उनी इसाराबाट हामीसँग कुराकानी गर्न खोजिरहेका थिए । हामीले नमस्कार फर्काएपछि एगेले पनि मुस्कानसहित पुनः नमस्कार गरे । उनी बोल्न नसक्ने र कान पनि नसुन्ने भएको कारण उनको विवाह समेत भएको रहेनछ । आफ्नो भाइको घरमा भाइ–बुहारीसँगै बस्ने रहेछन् एगे ।

एगेको दैनिकी भनेको घरमै सामान्य कृषि कर्म गर्नु हो । उनको न रोजगारी छ, न कुनै नियमित आम्दानीको स्रोत । टन्न पुर्ख्यौली सम्पत्ति भएको व्यक्ति पनि होइनन् यिनी । तर यिनै एगेको नाममा कर्णाली विकास बैंकमा ५० लाखको ऋण छ, जुन ऋण उनले कहिल्यै लिएका थिएनन् ।

कर्णाली विकास बैंकले एगेको नाममा रहेको एक कठ्ठा ९ धुर जग्गा धितो राखेर ५० लाख ऋण प्रवाह गरेको पाइएको छ, जुन कुरा उनलाई थाहा नै छैन ।

उनको जग्गा भएको स्थान वरपरको जग्गाको हालको मूल्य प्रतिकठ्ठा २० लाख रुपैयाँको हाराहारीमा छ । तर २८ महिना पहिले नै उनको नाममा ५० लाख रुपैयाँको ऋण जारी गरिएको छ ।

आमाको मृत्यु भएपछि एगे कामी पनि भाइ लालबहादुर कामीसँगै बसिरहेका छन् । तर उनको अंशमा आएको जग्गा यतिबेला कर्णाली विकास बैंकमा धितोबन्धकमा राखिएको छ । ब्याज र किस्तासमेत नतिरेको कारण उनको नाममा ३५ दिने सूचना निकाल्ने तयारी भइरहेको छ र बिस्तारै लिलामीको प्रक्रियामा लगिनेछ । तर लिलामी प्रक्रियाबाट पनि उनको नाममा जारी भएको ऋणको सावाँ र ब्याज तिर्न पुग्ने छैन । किनभने जुन स्थानमा उनी बसोबास गरिरहेका छन् र जति जग्गा धितोमा राखिएको छ, उक्त जग्गाको हालको मूल्य बढीमा ३० लाख रुपैयाँमात्रै आउँछ ।

उनको जग्गा भएको स्थान वरपरको जग्गाको हालको मूल्य प्रतिकठ्ठा २० लाख रुपैयाँको हाराहारीमा छ । तर २८ महिना पहिले नै उनको नाममा ५० लाख रुपैयाँको ऋण जारी गरिएको छ ।

कर्णाली विकास बैंकले २०७७ मंसिर ७ गते भूमिसुधार तथा मालपोत कार्यालय, नेपालगंज बाँकेलाई लेखेको चलानी नम्बर ९०७ को पत्रबाट २०७७ मंसिर १० गते मालपोत कार्यालयले उक्त जग्गा धितो बन्धकमा राखेको छ । रोजगारी वा आम्दानीको कुनै स्रोत नभए पनि ५० लाखको ऋण दिन बैंकलाई कुनै सकस देखिएको छैन । बैंक यति धेरै उदार भएको छ कि तत्कालीन समयमा करिब २५ लाख जाने जग्गा धितोमा राखेर ‘गरिब’का लागि बैंकले ५० लाखको ऋण दिएको छ ।

एगे कामीलाई के कसो भनेर उक्त जग्गा धितोमा राखियो र उनको नाममा ऋण निकालियो, त्यो थाहा छैन । उनी बोल्न नसक्ने र कान पनि नसुन्ने भएकाले हामीले उनीसँग प्रत्यक्ष कुराकानी गर्न सकेनौँ । तर एगेकी भाइबुहारी (भाइकी पत्नी) सँग कुराकानी सुरु गरेपछि भाइबुहारीले हतारहतार आफ्ना पति लाल बहादुर कामीलाई घरमा बोलाइन् ।

‘चोकतिर’ रहेका लालबहादुर तत्कालै घर आइपुगे । तर हामीसँग खुलेर कुरा गर्न चाहेनन् । उनले ‘यसै महिनाभित्र सेटलमेण्ट गरिदिने भनेका छन्’ भन्ने जवाफ मात्रै दिए । तर कसले कसरी सेटलमेण्ट गरिदिने कुरा बताउन चाहेनन् । अनि एकै महिनामा एक करोड रुपैयाँको सेटलमेण्ट कसरी सम्भव छ, त्यो पनि बताउन चाहेनन् । उनको कुराकानीबाट स्पष्ट बुझिन्थ्यो कि यसै (चैत) महिनाभित्रै सेटलमेण्ट गरिदिने कसैले बताएको छ । तर लाल बहादुरले ती व्यक्ति वा संस्था को हुन्, जसले एगे कामी र लाल बहादुरको नाममा रहेको एक करोडको ऋण सेटलमेण्ट गरिदिने भनेका छन्, ती व्यक्तिको बारेमा केही बताएनन् । 

लालबहादुर कामी पेसाले बस र ट्रक चालक हुन् । धेरै वर्षको मिहेनतबाट लाल बहादुरले आफ्नो पुर्ख्यौली जग्गामा एक तलाको घर बनाएका छन् । पूरै समय काम गर्न पाए पनि उनको मासिक आम्दानी अधिकतम ४० हजारको हाराहारीमा हुन्छ । तर बालबच्चालाई पढाउनुपर्ने, घरमा खर्च गर्नुपर्ने भएकाले उनको आम्दानीले खर्च धान्न नै मुस्किल छ । घर बनाउँदा लिएको केही ऋण पनि अझै तिर्न नै बाँकी छ ।

सोही बैंकबाट उनको नाममा पनि ५० लाख ऋण प्रवाह भएको छ । अर्थात् दाजु र भाइको गरी कुल एक करोड रुपैयाँ ऋण कर्णाली विकास बैंकबाट जारी भएको छ ।

विकास बैंकले व्यक्तिको नाममा ऋण जारी गर्दा अधिकतम ५० लाखसम्मको मात्रै ऋण दिन पाउँछ । ५० लाख ऋण भनेको व्यक्तिका लागि दिने ऋणको अधिकतम सीमा हो । तर त्यति धेरै ऋण प्रवाह गर्दा पनि व्यक्तिलाई कुन कामका लागि आवश्यक परेको हो, व्यक्तिको ऋण तिर्नसक्ने क्षमता कति हो, आदि सबै हेरेर ऋण रकम असुल हुने गरीमात्रै ऋण प्रवाह गर्न मिल्छ । तर बेरोजगार कुनै आम्दानी नभएको एगेका लागि ५० लाख र औसतमा महिनाको २०–२५ हजार कमाउन सक्ने लाल बहादुरका लागि बैंकले एक करोड ऋण प्रवाह गरेको छ ।

ऋण के कसरी लिइएको हो र किन लिएको हो भन्ने रातोपाटीको प्रश्नमा लालबहादुर खुल्न चाहेनन् । उनले केही घरायसी समस्या परेको कारण ऋण लिएको बताए । दाइको नाममा बैंकले कसरी ऋण दियो र उनलाई आफ्नो ऋणबारे जानकारी छ त भन्ने प्रश्नमा लाल बहादुरले आफू साक्षी बसेर ऋण लिएको र चाँडै सेटल हुने बताए । लाल बहादुरले ऋण तिर्नसक्ने क्षमतामा पनि आफूले तिर्ने भनेर लिएको बताए । तर उनले कर्णाली विकास बैंकबाट लिएको एक करोड ऋण कहाँ लगानी गरे वा कसलाई दिए भन्न चाहेनन् । बरु बारम्बार ‘यही महिनाभित्रै सेटलमेण्ट गरिदिने बताएका छन्’ भने । ती ‘बताउने’ व्यक्ति को हुन् भनेरचाहिँ उनले बताएनन् ।

गरिबको नाममा ऋण निकालेर व्यवसायीको रजगज

यसअघि हामीले रुकुमका एक सामान्य सवारीचालकमाथि कसरी ४८ लाख ऋणको भारी बोकाइयो भनेर डम्मर कामीको कथा प्रस्तुत गरेका थियौँ । डम्मर कामीजस्तै पीडित हुन्, एगे कामी र लाल बहादुर कामी पनि । कर्णाली विकास बैंकबाट डम्मर कामी, एगे कामी, लालबहादुर कामी लगायतका दर्जनभन्दा बढी व्यक्तिको नाममा ५० लाखका दरले ऋण जारी भएको छ । तर ती व्यक्तिहरुले वास्तविक रुपमा कहिल्यै ऋण पाएनन् ।

उनीहरुलाई रोजगारी दिने वा नातेदारको भेषमा रहेका व्यवसायी तिलक विकले नै उनीहरुको नाममा ऋण निकालेर अपचलन गरेका छन् । कर्णाली विकास बैंकका सञ्चालक समितिका सदस्यसँगको मिलेमतोमा तिलकले गरिबहरुको नामबाट ऋण निकालेर कैयन् स्थानमा घरजग्गा खरिद गरेका छन् भने कति रकम मोजमस्तीमै सकाएका छन् ।

लालबहादुरले स्पष्टरुपमा नाम नलिए पनि सेटलमेण्ट गरिदिने बाचा गरेका व्यक्ति उनै तिलक विक हुन् । लालबहादुर कामी तिलकको बस चलाउने चालकमात्रै हुन् । तिलकले नेपालगञ्ज–काठमाडौं चल्ने रुटमा बससमेत सञ्चालनमा ल्याएका छन् भने पेसाले तिलक ठेक्कापट्टा व्यवसायी हुन् । त्यसबाहेक बैंकका सञ्चालक समितिका सदस्यहरुसँग मिलेर तिलकले विभिन्न डमी कम्पनी खडा गरेरसमेत बैंकबाट एक अर्बभन्दा बढी ऋण लिएका छन् ।

डेपुटी सिइओ शाहलाई सेटलमेण्ट कसरी गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले ऋणीलाई ऋण तिर्न लगाउने बताए । तर ऋणीले ऋण नै लिएका छैनन् भने कसरी तिर्छन् त भन्ने प्रश्नमा यसको जवाफ ऋण आफैले दिनसक्ने बताए ।

बैंक भन्छ– चाँडै सेटलमेण्ट हुन्छ, चिन्ता नलिनुस्

एगे कामीको नाममा के कसरी ऋण प्रवाह भयो र के कुन आम्दानीको आधारमा उनलाई ऋण दिइएको हो भन्ने रातोपाटीको प्रश्नमा कर्णाली विकास बैंकले स्पष्ट जवाफ दिन सकेन । बैंकका डेपुटी सीइओ निरज विक्रम शाहले बैंकबाट जारी भएको केही ऋणमा कैफियत पाइएको र अहिले त्यो सेटलमेण्ट गर्ने तयारी भइरहेको बताए । औपचारिक कुराकानी गर्न अस्वीकार गरेका शाहले अनौपचारिक कुराकानीका क्रममा बैंकबाट जारी भएको केही ऋणमा गम्भीर त्रुटी देखिएकोबारेमा आन्तरिक छानबिन भइरहेको समेत बताए ।

शाहले भने, ‘जब ऋणको विषयमा केही जानकारी हामीलाई प्राप्त भयो, त्यसपछि हामीले आन्तरिक छानबिन थालेका छौँ । छानबिनका क्रममा केही त्रुटी पाएका छौँ । आम्दानी नै नभएका व्यक्तिका नाममा ठूलो रकम ऋण प्रवाह भएको देखिएको छ भने बोल्न नसक्ने र कान नसुन्ने व्यक्तिका नाममा ५० लाख ऋण प्रवाहको विषय पनि आएको छ । हामी चाँडै नै यस विषयको सेटलमेण्ट गर्छौँ ।’

डेपुटी सिइओ शाहलाई सेटलमेण्ट कसरी गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले ऋणीलाई ऋण तिर्न लगाउने बताए । तर ऋणीले ऋण नै लिएका छैनन् भने कसरी तिर्छन् त भन्ने प्रश्नमा यसको जवाफ ऋण आफैले दिनसक्ने बताए । स्मरणीय के छ भने नक्कली ऋणी एगे कामी कुनै जवाफ दिन सक्दैनन् ।

ऋण नउठे वा सेटलमेण्ट नभए के गर्नुहुन्छ त भन्ने रातोपाटीको प्रश्नमा डेपुटी सीइओ शाहले त्यस्तो अवस्थामा ऋणीको धितोको जग्गा जफत हुने र त्यसले नधानेमा अन्य जायजेथाबाट असुल हुने बताउँछन् ।

स्मरणीय के छ भने एगे कामीको नाममा जारी भएको ५० लाख ऋणको धितोका रुपमा राखिएको जग्गाको हालको चलनचल्तीको मूल्य करिब ३० लाखमात्रै रहेको सोही स्थानका एक स्थानीयले बताए । उनले भने, ‘एकजना व्यापारीजस्तो मान्छे गाडी फेरिफेरि लाल बहादुरको घरमा आउँथ्यो । त्यही मान्छेले ऋण चलाएको हो भन्ने सुनेका छौँ । लाल बहादुर त सामान्य ड्राइभर हो, उसले एक करोड रुपैयाँ कसरी चलाउँछ र ! घर बनाउँदा पनि व्यक्तिसँग ५ लाख ऋण लिएको छ भन्ने सुनेको छु ।’

एगे कामी, डम्मर कामी लगायतका व्यक्तिहरुको जग्गा धितोमा राखी ऋण प्रवाह गर्दा ती जग्गाहरुको भ्यालुएसन के कसरी र कति गरिएको छ भनी बैंकबाट कागजात वा जानकारी माग्दा बैंकले दिन अस्वीकार गर्‍यो ।

भ्यालुएटर निलम्बित !

कर्णाली विकास बैंकका डेपुटी सीइओ निरज विक्रम शाहीले जग्गाको मूल्यभन्दा बढी मूल्याङ्कन गर्ने भ्यालुएटरलाई निलम्बन गरेको दाबी गरे । तर कुन कम्पनीले उक्त जग्गाको भ्यालुएसन गरेको थियो भन्ने विषयमा भने उनले खुलाउन चाहेनन् ।

२०७७ सालमा ऋण प्रवाह गर्दा धितोमा रहने कुल मूल्यको अधिकतम ५० प्रतिशतसम्म मात्रै ऋण दिन मिल्ने व्यवस्था थियो । तर ०७७ मंसिर ७ गते एगे कामीको नाममा रहेको जग्गा धितोमा राखी ऋण प्रवाह हुँदा वास्तविक मूल्यभन्दा दोब्बर रकम ऋण दिइएको छ । अधितकम मूल्य राख्दा पनि चलनचल्तीमा ३० लाखमा पाइने जग्गालाई त्यतिबेला नै ५० लाख रुपैयाँ ऋण प्रवाह गरिएको छ ।

तत्कालीन समयमा कर्णाली विकास बैंकका लागि भ्यालुएटरको काम गर्थे, इञ्जिनियर निसार अहमद दर्जी । उनै निसारको कम्पनीबाट भएको भ्यालुएसनका आधारमा एगे कामीका जग्गा धितोमा राखी ऋण दिइएको स्रोतको दाबी छ । सामान्य अवस्थामा ५० लाख ऋण प्रवाह गर्दा कम्तीमा पनि जग्गाको मूल्य एक करोडको हाराहारीमा हुनुपर्ने थियो र ऋणीको आम्दानी वा आम्दानीको नियमित स्रोत हुनुपर्ने थियो । तर यी केही नहेरी ऋणीको नाममा ऋण प्रवाह गरिएको छ । ऋण बापतको रकम ऋणीकै खातामा हालिए पनि उक्त रकम व्यवसायीहरुले कब्जा गरेका छन्, ऋणीसँग केवल ऋणको भारीमात्रै छ ।

तत्कालीन समयमा भ्यालुएटरको काम गर्ने निसार अहमद दर्जी यतिबेला कर्णाली विकास बैंकमा पब्लिकतर्फका डाइरेक्टर छन् । बैंकले उक्त कम्पनीलाई सस्पेण्ड गरेको दाबी गरे पनि कम्पनीका मालिक तथा भ्यालुएटर निसारलाई भने बैंकको निर्देशककै रुपमा राखिरहेको छ ।

बैंकले मानेन भ्यालुएसनको रिपोर्ट दिन

एगे कामी, डम्मर कामी लगायतका व्यक्तिहरुको जग्गा धितोमा राखी ऋण प्रवाह गर्दा ती जग्गाहरुको भ्यालुएसन के कसरी र कति गरिएको छ भनी बैंकबाट कागजात वा जानकारी माग्दा बैंकले दिन अस्वीकार गर्‍यो । बैंकका डेपुटी सीइओ निरज विक्रम शाहले त्यस विषयमा जानकारी दिन नसकिने बताए ।

शाहले रातोपाटीसँग भने, ‘केही ऋण प्रवाहमा लापरवाही भएको भन्ने जानकारी आएको छ, हामी त्यस विषयमा छानबिन गरिरहेका छौँ । केही ऋण प्रवाहमा कैफियत भएको जस्तो आभाष भएको छ, हामी चाँडै नै यस विषयमा सेटलमेण्ट गर्ने प्रयास गरिरहेका छौँ । तर हामी भ्यालुएसनको रिपोर्ट दिन सक्दैनौँ ।’

राष्ट्र बैंकको रहस्यमय मौनता

कर्णाली विकास बैंकबाट जारी भएको ऋणमा कैफियत रहेको सम्बन्धमा नेपाल राष्ट्र बैंक जानकार नै छ । पीडित डम्मर कामीले नेपाल राष्ट्र बैंकमा उजुरीसमेत गरेका छन् । उजुरी लगत्तै नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकको केन्द्रीय कार्यालयमा समेत अनुगमन गरेको कर्णाली विकास बैंकका डेपुटी सीइओ शाहले दाबी गरेका छन् । तर राष्ट्र बैंकले अनुगमन गरिसकेपछि पनि सबै ठिक छ भनेर जानकारी गराएको शाहको दाबी छ ।

बैंक आफैले कैफियत पाइएको बताइरहँदा राष्ट्र बैंकको अनुगमन टोलीले भने ‘ठिक छ’ भनेर कुनै सुनुवाइ तथा जानकारी दिएको छैन । सर्वसाधारण जनताको निक्षेप तथा सेयर रहेको कर्णाली विकास बैंकमा गम्भीर लापरवाही र वित्तीय अराजकता हुँदा पनि नेपाल राष्ट्र बैंक भने मौन छ । उजुरी पर्दासमेत छानबिनमा कुनै चासो नदेखाएको र पीडितसँग सम्पर्कसमेत नगरेको राष्ट्र बैंकको मौनता रहस्यमय बन्दै गएको छ । 


प्रतिक्रिया