खेल २३ वैशाख २०८१
धर्मशालामा यो सिजनको पहिलो खेल आज : पञ्जाबसँग हारको बदला लिने धुनमा चेन्नई

एजेन्सी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ । उक्त खेल धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । 

धर्मशालाको क्रिकेट स्टेडियम पञ्जाबको दोस्रो घरेलु मैदान पनि हो । आइतबारको दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र कोलकाता नाइट राइडर्सबिच हुनेछ । उक्त खेल राति ७ः४५ बजे लखनउस्थित ईकाना क्रिकेट स्टेडियममा सुरु हुनेछ । 

जारी सिजनको आईपीएलमा चेन्नई सुपर किङ्स र पञ्जाब किङ्सले आफ्नो ११औँ खेल खेल्न लागेका हुन् । यो सिजन चेन्नई र पञ्जाब दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि खेलिएको खेलमा पञ्जाबले चेन्नईलाई सात विकेटले हराएको थियो । 

पञ्जाब र चेन्नईबिचको खेल जारी सिजनको आईपीएलको ५३औँ खेल हो । यो सिजनको आईपीएलमा पञ्जाबभन्दा चेन्नई केही बलियो देखिएको छ । चेन्नईले यसअघि खेलिएको १० मध्ये पाँच खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ । चेन्नई १० अंकसहित तालिकाको पाँचौँ स्थानमा छ ।

यसैगरी पञ्जाबले यसअघि खेलिएको १० मध्ये चार खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । पञ्जाब आठ अंकसहित तालिकाको आठौँ स्थानमा छ । पञ्जाबभन्दा तल गुजरात टाइटन्स (आठ अंक) र मुम्बई इन्डियन्स (६ अंक) छन् । मुम्बई भने उपाधि होडबाट बाहिरिइसकेको छ । 

००

हेड टु हेडमा एक खेलको अन्तर

इन्डियन प्रिमियर लिगमा हालसम्म पञ्जाब किङ्स र चेन्नई सुपर किङ्सबिच कुल २९ खेल खेलिएको छ । त्यसमध्ये १५ खेलमा चेन्नईले पञ्जाबलाई हराएको छ । बाँकी १४ खेलमा पञ्जाबले चेन्नईलाई हराएको छ । धर्मशालामा हालसम्म यी दुबै टोलीले एक–एक खेल जितेका छन् । 

००

पञ्जाबको सर्वाधिक रन शशांक सिंहको नाममा

जारी सिजनको आईपीएलमा पञ्जाबका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान शशांक सिंह र जोनी बेयरस्टो हुन् । यी दुबै ब्याट्सम्यानले टोलीका लागि दुई सय ५० रन बनाइसकेका छन् । शशांकले दुई सय ८८ रन बनाएका छन् । यस क्रममा उनले दुई अर्धशतक पनि बनाएका छन् । 

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा बेयरस्टो दोस्रो स्थानमा आसिन छन् । उनले टोलीका लागि कुल दुई सय ५० रन बनाएक छन् । यस क्रममा उनले एक शतक (अविजित एक सय आठ रन) पनि प्रहार गरेका छन् ।

यसैगरी पञ्जाब किङ्सका लागि सर्वाधिक विकेट लिने बलर हर्षल पटेल हुन् । उनले हालसम्म टोलीका लागि १० खेल खेल्दै कुल १४ विकेट लिएका छन् । यो सूचिमा दोस्रो स्थानमा भने अर्षदीप सिंह रहेका छन् । उनले १३ विकेट हात पारेका छन् । 

००

चेन्नईका ऋतुराज गायकवाड अगाडि

इन्डियनस प्रिमियर लिगको जारी सिजनमा चेन्नई सुपर किङ्सका लागि ऋतुराज गायकवाड सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले टोलीका लागि हालसम्म १० खेल खेल्दै कुल पाँच सय नौ रन बनाइसकेका छन् । 

ऋतुराज गायकवाड आईपीएलको जारी सिजनमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि विराट कोहली (पाँच सय ४२ रन) पछि दोस्रो स्थानमा रहेका छन् । चेन्नईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा रहेका शिवम दुबेले तीन सय ५० रन जोडेका छन् ।   

यसैगरी चेन्नईका लागि सर्वाधिक विकेट लिने बलर मुस्तफिजुर रहमान हुन् । उनले नौ खेलमा १४ विकेट लिएका छन् । तर, आइतबारको खेलमा उनी अनुपस्थित रहने छन् । उनी बंगलादेश फर्किएका छन् । यो सूचिमा दोस्रो स्थानमा माथिसा पाथिराना रहेका छन् । उनले १३ विकेट लिएका छन् । 

००

यो सिजन धर्मशालमकम पहिलो खेल

धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियम पञ्जाबको दोस्रो घरेलु मैदान हो । यो स्टेडियममा जारी सिजनको आईपीएलको पहिलो खेल खेल्न लागिएको हो । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ११ खेल खेलिएको छ । 

त्यसमध्ये ६ खेलमा पहिलो ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । बाँकी पाँच खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले जित हात पारेका छन् । यो स्टेडियममा हालसम्म बनेको उच्च स्कोर दुई विकेट गुमाएर दुई सय ३२ रन हो । उक्त रन सन् २०११ मा बैंगलुरुविरुद्ध पञ्जाबले बनाएको थियो ।

००

वर्षाले खेल बिथोल्ने सम्भावना

चेन्नई सुपर किङ्स र पञ्जाब किङ्सबिच खेल हुने दिन आइतबार धर्मशालाको मौसम क्रिकेटका लागि उपयुक्त रहने छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार, आइतबार धर्मशालामा वर्षाको सम्भावना ६० प्रतिशत रहेको छ । आइतबार धर्मशालाको तापक्रम १७ देखि २३ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ । 

००

सम्भावित टोली 

पञ्जाब किङ्स : साम कुर्रन (कप्तान), जोनी बेयरस्टो, प्रभसिमरन सिंह, राइली रुसो, जितेश शर्मा, शशांक सिंह, आशुतोष शर्मा, हरप्रित बरार, कागिसो राबडा, हर्षल पटेल र राहुल चाहर । इम्प्याक्ट प्लेयर : अर्शदीप सिंह ।

चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), अजिनक्या रहाणे, ड्यारल मिचेल, मोइन अली, शिवम दुबे, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी, समिर रिजवी, शार्दुल ठाकुर, रिचर्ड ग्लिसन र तुषार देशपाण्डे वा मुकेश चौधरी । इम्प्याक्ट प्लेयर : माथिशा पाथिराना । 





प्रतिक्रिया