समाचार २२ असार २०८०
सचिवलाई मुक्का हानेर भाइरल बनेका वडाध्यक्षलाई ६ लाख जफत गरेकाे आराेप लागेपछि...

ओमकार टाइम्स

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विनोदसिंह विष्टले एक उपभोक्ता समितिको पैसा जफत गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । बिहीवार दिउँसो वडाध्यक्ष विष्टसहित सुशील गुरुङ र बलिराज शाहीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ जफत गरेको आरोप छ ।

अध्यक्ष विष्टले खोर्केखोला तटबन्धन उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर सिंहको घरबाट उक्त रमक जफत गरेकाे उजुरीमा उल्लेख रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

शाहीले वडाध्यक्ष विष्टविरुद्ध रकम जफत गरेको ठाडो उजुरी दर्ता भएको तर वास्तविकताका बारेमा अनुसन्धान भइरहेको बताए । ‘उहाँहरूले वडाध्यक्षले जबरजस्ती पैसा लुटेर फरार भएको भन्ने ठाडो उजुरी दर्ता गराउनु भएको छ, अहिले एकपक्षीय कुरा सुनेका छौँ । हामी अनुसन्धान गर्दैछौँ’, शाहीले भने ।

वडाध्यक्ष विष्टले आफूमाथि लागेको आरोप निराधार रहेको बताए । आफूले कसैलाई धम्की नदिएको र रकम पनि नलिएको उनको दाबी छ । प्रदेश सरकारको खोर्केखोला तटबन्धन निर्माणका लागि ३० लाख रुपैयाँ बजेटमा तटबन्धनको काम सम्पन्न भएको थियो । उपभोक्ता समितिले मजदुरलाई भुक्तानी गर्ने रकम नै वडाध्यक्षले धम्काएर लगेको समितिका सदस्य दीपा खड्काको आरोप छ । विष्ट केही महिनाअघि एक सचिवलाई मुक्का हानेर सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।


प्रतिक्रिया