राजनीति ४ कार्तिक २०७९
गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने थियो : महासचिव भुसाल

ओमकार टाइम्स

नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताए ।

उनले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरूलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू पराजित हुनुपरेको बताए । उनले आगामी निर्वाचनमा भने समयमा नै मतदाताहरूलाई मतदाता शिक्षाको बारेमा स्पष्ट जानकारी गराइ मत बदर हुनबाट रोक्नुपर्ने बताए । महासचिव भुसालले पुनः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि मत बदर भए गठबन्धनले चुनाव हार्ने बताए । उनले चुनावको खेल धेरै डरलाग्दो हुने भन्दै मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी रहेको बताए ।

उनले भने, ‘यो गठबन्धन हामीले नेपाली जनताले धेरै लामो संघर्षबाट प्राप्ति गरेका उपलब्धिको रक्षाका लागि बनाएका हौँ । खाली आज चुनावका लागि मात्रै होइन । जब नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको संविधानलाई खारेज गर्ने दिशामा तत्कालीन प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटन गरेपछि हामीले प्रतिनिधिसभाको रक्षा गरेर हामा उपलब्धिहरुलाई रक्षा गर्न लाग्यौँ । हामीले असफल पनि पारेका थियौँ । यो प्रश्न जनताको बीचमा स्पष्ट पार्नुपर्ने आवश्यक्ता छ ।’ 

उनले थप भने– ‘हामी गठबन्धन बनाएर संविधानको रक्षा गरेका थिएनौँ भने लोकतन्त्र समाप्त हुने थियो । स्थानीय निर्वाचनमा पनि हामी गठबन्धन गरेर चुनावमा लडेका थियौँ । धेरै ठाउँमा मत बदर भएका कारणले हामीले चुनाव हारेका छौँ । यहीँ काठमाडौं महानगरपालिकामा पनि धेरै मत बदर भएका कारण हामीले चुनाव हार्यौ । महानगरमा मत बदर नभएको भए हामीले चुनाव जित्थ्यौँ । हाम्रा मत बदर भएका कारण मेयर, उपमेयरले प्राप्त गरेका मत पनि जुन संख्यामा बदर भयो, त्यो कारणले हामीले चुनाव हारेका छौँ । यसलाई हामीले बिर्सिनु हुँदैन । फेरि पनि हाम्रा मतहरु बदर भए भने फेरि पनि हामी चुनाव हार्न सक्नेछौँ । चुनावको खेल भनेको धेरै खतरनाक खेल हुन्छ । त्यसलाई बुझ्न जरुरी छ । मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी छ ।’महासचिव भुसालले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई सबै जनताले जिताउन आवश्यक रहेको बताए । 



प्रतिक्रिया

सम्बन्धित समाचार