समाचार २९ चैत्र २०७९
ट्राफिक प्रहरीले किन चिन्दैन नागरिक एपको लाइसेन्स ?

ओमकार टाइम्स

काठमाडौं । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ २०७७ साल माघ २ गते ‘नागरिक एप’ सार्वजनिक गरिएको थियो । नेपाल सरकारद्वारा प्रदान गरिने सवै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो ।

एप सञ्चालनमा आएको दुई वर्ष बितिसक्दा समेत भनिएजस्तो सेवा प्रवाह नभएको उपभोक्ताको गुनासो छ । जसको एउटा उदाहरण हो सवारी चालकको लाइसेन्स । गत असारमा नै नागरिक एपमा लाइसेन्स लिंक गर्न सकिने व्यवस्था गरिएको थियो । एपमा लाइसेन्स देखिएको ९ महिना बितिसक्दा समेत ट्राफिक प्रहरीले लाइसेन्सलाई मान्यता दिन सकेको छैन ।नागरिक एपमा भएको लाइसेन्स देखाउँदा नचिन्ने भन्दै भौतिक रुपमै लाइसेन्स माग्ने गरेको छ । तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरु भने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देखाउँदा ट्राफिक प्रहरीले मान्नुपर्ने बताउने गरेका छन् ।

मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले ट्राफिक प्रहरीलाई नागरिक एपमा रहेको सवारी लाइसेन्सलाई नै मान्यता दिन पत्राचार गरिएको बताउँछन् । ‘हामीले सम्बन्धित निकायलाई पत्राचार समेत गरिसकेका छौँ, केही प्राविधिक कारण देखाइएको छ, अब छिट्टै नागरिक एपमा नै भएको लाइसेन्सलाई ट्राफिक प्रहरीले मान्यता दिन्छ’, उनले भने ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्राई भने केही प्राविधिक कारण ट्राफिक प्रहरीले नागरिक एपमा देखाइएको लाइसेन्सलाई मान्यता नदिएको बताउँछन् । ‘यातायात व्यवस्था विभागले दिएको लाइसेन्सको विवरण मात्र एपमा देखिन्छ, तर ट्राफिक प्रहरीले विभिन्न समयमा गरेका कारवाहीको विवरण एपमा नदेखिँदा समस्या भएको भनिएको छ’, उनले भने, ‘ट्राफिक प्रहरीले प्रयोग गर्ने एमआईएसलाई नागरिक एपमा लिंक गर्नका लागि छलफल सुरु भएको छ, अब केही समयपछि मान्य हुनेछ ।’

उनले एमआईएसलाई प्रविधिलाई नागरिक एपमा लिंक गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई जानकारी गराइसकिएको भन्दै उनले छलफलकै क्रममा रहेको बताए ।

ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागबीच समन्वय नहुँदा उपभोक्ताले दुख पाउने गरेको क्यान फेडेरेशनका महासचिव चिरन्जिबी अधिकारी बताउँछन् ।

‘सरकारी सबै सेवा एउटै एपबाट भन्दै नागरिक एप सञ्चालनमा ल्याईएको हो, यसमा सरकारको करोडौ रकम खर्च भएको छ, तर खर्च अनुसारको सेवा उपभोक्ताले पाउँन सकेनन्’, उनले भने, ‘दुई सरकारी निकायबीच समन्वय नहुदा आम उपभोक्ताले दुख पाउने मात्र काम भयो ।’

ट्राफिक प्रहरी भन्छ : सवारीसँग सम्बन्धित कागजात साथमै राख्नुपर्छ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयल भने सवारी साधनसँग सम्बन्धित सबै कागजात आफूसँगै राख्नुपर्ने बताउँछ । प्रहरी कार्यालयले केही समय अगाडि सार्वजनिक सूचना नै जारी गर्दै नागरिक एपमा भएका कागजातलाई मान्यता नदिने भन्दै कागजात आफुसँगै राख्नुपर्ने जनाएको थियो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३१ बमोजिम कुनै पनि सवारी चालकले चालक अनुमतिपत्र प्रहरी वा यातायात निरीक्षकले जाँचबुझको सिलसिलामा हेर्न खोजेमा देखाउनुपर्ने व्यवस्था छ । सोही ऐनको दफा ६० मा पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालकको सवारी चालक अनुमतिपत्र अधिकारप्राप्त अधिकारीले ६ महिनासम्मका लागि निलम्बन गर्नसक्ने व्यवस्था छ’, कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

निलम्बनमा रहेको सवारी चालक अनुमतिपत्र सम्बन्धी जानकारी नागरिक एपबाट नहुने भएकाले सवारी नियम उल्लंघन गरेमा कारबाही गर्न अनिवार्य सक्कल कागजात लिएर मात्र २४ घण्टे पुर्जी जारी गरिन्छ । नागरिक एपमा हेरेकै आधारमा २४ घण्टे पुर्जी जारी गर्न नमिल्ने भएकाले सवारी चालकले सवारी चालक अनुमतिपत्र लगायत सवारीसँग सम्बन्धित कागजात अनिवार्य रुपमा साथमै राखी सवारीसाधन चलाउनु पर्ने व्यवस्था छ ।

नागरिक एप हालसम्म ८ लाखभन्दा बढी नेपालीले प्रयोग गरिरहेका छन् । सो एपमा नागरिकता, स्थायी लेखा नम्बर (पेन), पासपोर्टको विवरण, सवारी दर्ता प्रणाली, सवारी चालक अनुमतिपत्रको विवरण, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषलगायतका विभिन्न विवरण र सेवा यस एपबाट प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार