समाचार २८ मंसिर २०८०
सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको आज तेस्रो

ओमकार टाइम्स

जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा जनकपुरधाममा भगवान् राम र आदर्श नारी सीताबिच विवाह भएको भनिएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाह पञ्चमी महोत्सव मनाइन्छ ।

मंगलबार पहिलो दिन जानकी नगर दर्शन गर्दै विधिवत् रूपमा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव प्रारम्भ भएको थियो । बुधबार जानकी मन्दिरसँगै रहेको विवाह मण्डपमा सिताले फूल टिप्न गएको बेलामा रामसँग भएको पहिलो भेटको सम्झनास्वरुप फूलबारी लीला सम्पन्न भएको थियो । आज धनुष यज्ञमा राम सीताको धनुष लीला प्रतिकात्मक रूपमा देखाइने छ । त्यस पश्चात् रामको प्रतिकको रूपमा रहने बालकले आज धनुष तोड्ने छन् । 

धनुष यज्ञ मनाउन जानकी मन्दिरको प्रांगणमा मञ्च बनाइएको छ। त्यही मञ्चमा धनुष राखेर धनुष यज्ञ मनाइने छ । धनुष यज्ञ बेलुका चार बजेदेखि जानकी मन्दिर परिसरमा मनाइने जानकी मन्दिरका छोटा महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।

त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीताको स्वयम्बरका लागि राखेको शिव धनुषलाई राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताबिच विवाह भएको थियो । त्यसकै सम्झनामा राम जानकी विवाह महोत्सव सुरु भएको तेस्रो दिन धनुष यज्ञ मनाउँदै आएको छ ।

यस्तै शुक्रबार चौथो दिन तिल्कोत्सव, पाँचौँ दिन मटकोर तथा पूजा कार्यक्रम मनाइने र छैटौँ दिन अर्थात् पुस १ मा सीतारामको विवाह कार्यक्रम सम्पन्न भएपछि पुस २ मा रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।

विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जन्तीको रूपमा भारतबाट हजारौँको सङ्ख्यामा श्रद्धालुहरू सहभागी हुने गरेका छन् । अन्य वर्षहरूमा औपचारिक रूपमै जन्ती आउने कार्यक्रम रहे पनि यस वर्ष औपचारिक रूपमा जन्ती आउने कार्यक्रम नभएको जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले बताए ।

महोत्सवमा नेपालको विभिन्न ठाउँहरूबाट पनि हजारौँको सङ्ख्यामा श्रद्धालुहरू सहभागी हुने गरेको छ ।





प्रतिक्रिया