समाचार २ चैत्र २०७९
बंगलादेशमा नेपाल चिनाउने प्रदर्शनी सुरु

ओमकार टाइम्स

नेपाली कला र संस्कृति बुझाउने प्रदर्शनी बंगलादेशमा सुरु भएको छ । ढाकास्थित बंगलादेश शिल्पकला एकेडेमीमा जारी प्रदर्शनीमा ३३ जना नेपाली कलाकारका ५२ वटा कलाकृति समावेश छन् ।

मंगलबार साँझ सुरु भएको ५ दिने प्रदर्शनीमा बंगलादेशी कलाकारका ८० वटा भन्दा बढी कलाकृति पनि राखिएको छ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र त्यहाँका सांसद डा. दीपु मोनीले संयुक्त रूपमा प्रदर्शनीको शुभारम्भ गरे । यो कार्यक्रम बंगलादेश–नेपाल फ्रेन्डससिप सोसाइटीसँगको सहकार्यमा भएको राजदूत भण्डारीले बताए ।

उनले भने, ‘नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा यस वर्ष आयोजना गरिएको महोत्सवमध्ये एक हो । यसको उद्देश्य नेपाल र बंगलादेशको समृद्ध कलात्मक परम्परा र सांस्कृतिक सम्पदाहरू प्रदर्शन गर्नु हो ।’

यस्तो कार्यक्रमले दुवै देशका कलात्मक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

बंगलादेशी सांसद मोनीले समृद्ध र जीवन्त कला र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्न दुवै पक्षले गरेको प्रयासको प्रशंसा गर्दै प्रदर्शनीले नेपाल–बंगलादेशको सांस्कृतिक सम्बन्ध अझ प्रगाढ हुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै बंगलादेशको विदेश मन्त्रालयका सचिव सब्बिर अहमद चौधरीले राजनीतिक र आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन सांस्कृतिक कूटनीतिको महत्वमा जोड दिए ।

प्रदर्शनी अवधिभर दुवै देशका कलाकारको सांस्कृतिक प्रस्तुतिलगायतका कार्यक्रम हुनेछन् । महोत्सवको समापन त्यहाँको शिल्पकला एकेडेमीको राष्ट्रिय चित्रशाला प्लाजामा हुनेछ ।

प्रतिक्रिया