समाचार ७ भाद्र २०८०
कांग्रेसका ८ नेताले भने - नेपाल उँभो नलाग्नुमा अनियन्त्रित भ्रष्टाचार नै हो

ओमकार टाइम्स

काठमाडौं । नेपाली कांग्रेस रुपान्तरण अभियानका नेताहरूले भ्रष्टाचारको फाइल खोल्न पार्टीले सरकारलाई सघाउनु पर्ने बताएका छन् । कांग्रेस रुपान्तरण अभियानका कोशी संयोजक गुरुराज घिमिरे, मधेस संयोजक रञ्जित कर्ण, बागमती संयोजक मधु आचार्य, गण्डकी संयोजक देवराज चालिसे, लुम्बिनी संयोजक डा.गोबिन्दराज पोख्रेल, कर्णाली संयोजक भुपेन्द्रजङ्ग शाही, सुदूरपश्चिम संयोजक भरतबहादुर खड्का र डायस्पोरा संयोजक सुवास लोहनीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भ्रष्टाचारको फाइल खोल्न पार्टीले सरकारलाई सघाउनु पर्ने बताएका हुन् ।

‘पछिल्ला विकसित राजनीतिक घटनाक्रमहरूका कारण नेपालको वर्तमान परिस्थिति थप पेचिलो बन्दै गएको छ । मुलतः लोकतान्त्रिक शासन प्रणालीलाई सबल तथा सफल बनाउने आधार भनेकै सुशासन हो । सुशासनलाई सुनिश्चित गर्ने प्रमुख विषय भ्रष्टाचारको नियन्त्रण हो । नेपाल उँभो नलाग्नुमा अनियन्त्रित भ्रष्टाचार नै हो । तसर्थ अहिले अनुसन्धानका क्रममा रहेका नक्कली भुटानी शरणार्थी काण्ड, ललितानिवास जग्गा काण्ड तथा क्विन्टल सुन प्रकरणलाई निष्पक्ष रुपमा अघि बढाई सरकारले तार्किक निष्कर्षमा पुर्‍याउनु पर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा यसमाथि भइरहेको अनुसन्धान प्रभावित वा रोकिनु हुँदैन । भ्रष्टाचारका घटनाहरूको छानबिनमा कुनै प्रकारको नेतागत वा पार्टीगत लेनदेन, साँठगाँठ वा पक्षधरता  कदापि मान्य हुनेछैन ।’

साथै भ्रष्टाचारसम्बन्धी यति, ओम्नी, वाइडबडी, फोर जी, सेक्युरिटी प्रिन्टिङ प्रेसलगायतका सम्पूर्ण फाइल खोलेर अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने उनीहरूको माग छ । यसका साथै विभिन्न बहुचर्चित भ्रष्टाचार काण्डहरूको छानबिन गरिरहेका प्रहरी अधिकारीहरूलाई अस्वभाविक रुपमा सरुवा गर्नुले अनुसन्धान प्रभावित सन्देह बढेको उनीहरूले बताए ।

‘नेपाली कांग्रेस आठ दशकदेखि विधिको शासन स्थापनाका लागि जोखिमपूर्ण लडाइँ लड्दै आएको नेपालको पुरानो राजनीतिक दल हो । यसले  सरकारमा हुँदा विधिको शासन चलाउने अभ्यासमा आफूलाई अब्बल सावित गर्नुपर्दछ भने पार्टी चलाउँदा पनि विधि र पद्धतिको पूर्ण पालना गर्नुपर्दछ’ जारी विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया

सम्बन्धित समाचार