समाचार ३ माघ २०७९
नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो १ बजे

ओमकार टाइम्स

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो। नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ।

सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए। उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए। उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ ।

‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ। बाँडफाँट टुंग्याएका छौं। भोलि एक बजे अघि टुंग्याउँछौ। केही परिवर्तन भएछ भने सल्लाहमा हुन सक्ला’,मन्त्री लामिछानेले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई बताए। दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादीले प्रधानमन्त्री, ४ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। अहिले माओवादीबाट प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री छन्। अब ३ मन्त्री र र १ राज्यमन्त्री थपिने छन्।

त्यस्तै, एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। एमालेबाट अहिले सरकारमा बिना विभागीयसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसहित ४ मन्त्री छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री सहित सरकारमा रहेको रास्वपाले थप २ मन्त्रालय पाएको हो।

राष्ट्रिय प्रजातान्त्र पार्टीले पनि दुई मन्त्रालय पाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने भएका छन्। साथमा सहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ। जनता समाजवादी पार्टीलाई २ मन्त्रालय दिने निर्णय भए पनि ऊ सहमत भएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार