समाचार १६ भाद्र २०८०
कोही भ्रष्टाचार र राज्य दोहनमा संलग्न भएको देखिए कसैले उन्मुक्ति पाउने छैन: वर्षमान पुन

ओमकार टाइम्स

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले देशमा अहिले जनताको सरकार रहेको बताएका छन् । गोङ्गबु बसपार्कमा ‘जनतासँग माओवादी विशेष अभियान’ को शनिवार उद्घाटन गर्दै पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको बताए ।

देशमा पहिलोपटक सरकारले पनि जनताको पक्षमा काम गर्दो रहेछ भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो ।  सुशासनका लागि भ्रष्टाचार विरोधी अभियान प्रतिस्पर्धी दल वा आफूसँग असहमत पक्षतर्फ लक्षित रहेको भन्ने भ्रम फैलाउन खोजिएको भन्दै समग्र मुलुकको शुद्धीकरणका लागि थालिएको पुनले उल्लेख गरे ।

पुनले सरकार वा राज्य संयन्त्र र सामाजिक संस्थाको नेतृत्वमा पुगेकाहरूमा वैध/अवैध सबै तरिकाले धन आर्जन गर्ने र मोजमस्तीमा खर्च गर्ने प्रवृत्ति हाबी भएको बताए ।

‘आफू पदमा बस्दा त्यसबाट बढीभन्दा बढी शोषण र दोहन गर्ने, वैध/अवैध ढङ्गले कसरी पैसा कमाउने र मोजमस्ती गर्ने भन्ने प्रतिस्पर्धातिर समाज गइरहेको छ । उत्पादन, श्रम वा उद्यम/व्यवसाय गरेर कमाउने नभई सजिलै कमाउने (इजी) मनीतिर समाज आकर्षित भइरहेको छ । बिचौलिया धन्दा र प्रवृत्ति समाजमा हुर्कँदै गएको छ’, उनले भने, ‘पार्टीहरू, राज्य संयन्त्र र समग्र समाजको शुद्धीकरणलाई सरकारले प्राथमिकतामा राखेर सुशासनको अभियान थालेपछि निराश जनतामा उत्साह पैदा भएको छ ।’ 

पुनले माओवादीभित्र कोही भ्रष्टाचार र राज्य दोहनमा संलग्न भएको देखिए कसैले उन्मुक्ति नपाउने पनि बताए । राष्ट्रिय र आत्मनिर्भर पुँजी निर्माण गर्ने राष्ट्र प्रेम तथा देशभक्तिको भावना भएका युवाहरूलाई तयार गर्ने अभियान पनि भएको पुनले बताए । 

राज्यप्रति जनतामा कम हुँदै गएको विश्वास जागृत गरी  राज्य मेरो अभिभावक हो भन्ने भावना पैदा नगराएसम्म जनतामा राजनीतिक नेतृत्वले विश्वास आर्जन गर्न कठिन रहेको पुनको स्वीकारोक्ति थियो ।

प्रधानमन्त्री प्रचण्डले आफू र मेरो आफ्नो परिवारका कोही पनि सदस्यले भ्रष्टाचारजन्य काम गरेको भए कठघरामा उभिन तयार छु भन्ने सामान्य विषय नभएको व्याख्या गरे । ‘बहालवाला प्रधानमन्त्रीले म र मेरो परिवारका कसैले भ्रष्टाचारजन्य अपराध गरेको देखियो भने पनि कठघरामा उभ्याउनु भनेर अनुसन्धान गर्ने निकायलाई सार्वजनिक रूपमा अपिल गरेर त्यस प्रकारको उच्च नैतिक उचाइ प्रदर्शन गर्नु सामान्य कुरा हुन सक्दैन’, पुनले भने । प्रधानमन्त्रीको अभिव्यक्तिले भ्रष्टाचार छानबिन गरिरहेका निकायलाई दृढतापूर्वक अघि बढ्ने प्रेरणा मिलेको उनले उल्लेख गरे ।

फरक प्रसङ्गमा पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्याय माओवादीको एजेन्डा भए पनि पछि सबै दल सोही एजेन्डामा आएको स्मरण गरे । तर, पछिल्लो समय अभ्यासका क्रममा भएका कमजोरीले ती एजेन्डामाथि प्रश्न उठ्न थालेको स्वीकार गरे । एजेन्डाको बाहकको रूपमा अभ्यासमा भएका कमजोरी सुधार्ने जिम्मेवारी पनि माओवादीले लिने प्रतिबद्धता जनाए ।




प्रतिक्रिया

सम्बन्धित समाचार