खेल १८ पौष २०७९
सुमितको उत्कृष्ट ब्याटिङमा पोखरा विजयी, काठमाडौं ५ विकेटले हार्‍यो

ओमकार टाइम्स

ओपनर सुमित महर्जनको उत्कृष्ट ब्याटिङमा काठमाडौं नाइट्सलाई ५ विकेटले पराजित गर्दै पोखरा एभेन्जर्सले जारी नेपाल टी–२० लिगमा प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले दुई बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पुरा गर्‍यो ।

पोखराको जितमा सुमित महर्जनले उत्कृष्ट इनिङ खेले । उनले ५२ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रन जोडे । सुमितले तेस्रो विकेटका लागि उपुल थरंगासँग १ सय १२ रनको साझेदारी गरेका थिए । थरंगा ४९ बलमा ५ चौका र १ छक्कासहित ५८ रन बनाएर पभेलियन फर्किएका थिए । कुशल मल्ल १४ रनमा अविजित रहे ।

काठमाडौंको बलिङमा कमल ऐरीले सर्वाधिक तीन विकेट लिए । उनले ३।४ ओभरमा २६ रन खर्चिए । अनिल खरेल र अविनाश बोहराले समान एक÷एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रनको योगफल तयार पारेको थियो ।

काठमाडौंका लागि एलेक्स ब्लेकले सर्वाधिक ६४ रनको इनिङ खेले का थिए । उनले २८ बलमा ७ छक्का र तीन चौका प्रहार गरे । ब्लेक जारी लिगमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन् ।

ओपनर विरन्दीपसिंह ३८ बल खेल्दै २ चौका र १ छक्कासहित ३२ रनमा आउट हुँदा सुनम गौतमले ४२ बलमा ५ चौका प्रहार गर्दै ४५ रन बनाएका थिए ।

अज्मतुल्लाह ओमारजाई ३ रनमा आउट हुँदा रायन बर्ल १० र लोकेश बम ४ रनमा अविजित रहे ।

पोखराको बलिङमा तुल बहादुर थापाले २ ओभरमा १७ रन खर्चिएर दुई विकेट लिए । प्रतिस जिसी र कुशल मल्ले समान दुई विकेट लिए ।

काठमाडौं ६ खेलमा तीन जित र तीन हारको नतिजा निकाल्दै ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । पोखरा ८ खेलमा पाँच हार र तीन जितको नतिजासहित ४ अंक जोडेर चौथो स्थानमा छ ।

लुम्बिनी अलस्टार्स ७ मध्य ६ खेल जित्दै १२ अंक जोडेर तीन खेल अगावै प्लेअफमा पुगिसकेको छ । जनकपुर रोयल्स दोस्रो स्थानमा छ ।

आज हुने दोस्रो खेलमा फार वेस्र्टन युनाइटेड र जनकपुर भिड्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार