समाचार खेल ३० फाल्गुन २०७९
नेपाल विश्वकप क्वालिफायरबाट १ खेल टाढा

ओमकार टाइम्स

 आसिफ शेखको विस्फोटक ब्याटिङ र सन्दीप लामिछानेको घातक स्पिनको मद्दतमा नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा पपुवा न्युगिनीमाथि ९ विकेटको सानदार जित हात पारेको छ। यो जितसँगै नेपाल विश्वकप छनोटको नजिक पुगेको छ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै हुने युएईसँगको खेल जितेमा नेपालले आउँदो जुन–जुलाईमा जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोट खेल्न पाउनेछ। नेपाली बलर हाबी भएपछि ९५ रनमा अलआउट भएको पिएनजीबाट पाएको लक्ष्य नेपाली ब्याटरले ४६ बल मात्र खेलेर पूरा गरे। ओपनर आरिफ शेखले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा नटआउट ५३ रन बनाए । त्यस क्रममा उनले ८ चौका र ३ छक्का हाने ।

अर्का ओपनर कुशल भुर्तेलको नटआउट रहने चाहना भने पिएनजीका बलरले पूरा हुन दिएनन्। नेपालको ५१ रन हुँदा कुशल व्यक्तिगत ३३ रनमा आउट भए । १४ बल मात्र खेलेका उनले ४ चौका र २ छक्का हाने । कुशल आउट भएपछि ब्याटिङमा आएका कुशल मल्ल १२ रनमा नट आउट रहे।

यसअघि सोमबार कीर्तिपुरमा टस जितेर फिल्डिङ रोज्ने नेपालको निर्णयलाई सही सावित गर्दै स्पिनरहरूले पिएनजीलाई सुरुदेखि नै दबाबमा राखेपछि नेपालले ९६ रनको लक्ष्य पाएको थियो। लामिछानेले १० ओभर बलिङ गर्दै २५ रन दिएर ५ विकेट लिए। ललित राजवंशी र कुशल मल्लले २–२ तथा सोमपाल कामीले १ विकेट बाँडे । ललित राजवंशीले चौथो ओभरको तेस्रो बलमा नेपालका लागि पहिलो सफलता दिलाए।

सुरुदेखि नै नेपाली बलरसामु खुलेर खेल्न नसकेका पिएनजीका ब्याटर पहिलो विकेट गएपछि झनै दबाबमा परे। त्यसको फाइदा उठाउँदै सोमपाल कामीले सातौँ ओभरको पाँचौँ बलमा हिरी हिरीलाई व्यक्तिगत १४ रनमा आउट गरे। चौथो ओभरमा बल हात पारेका स्पिनर लामिछानेले अन्तिम बलमा सेसे बाउलाई १८ रनमा आउट गरे।

उनले नै २०औँ ओभरको पहिलो बलमा असद भालालाई चौथो विकेटका रूपमा २० रनमा आउट गरे । यो २० रन पिएनजीका खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर बन्यो । चौथो विकेट गुमाउँदा स्कोर बोर्डमा पिएनजीको ७० रन मात्र थियो ।

२३औँ ओभरको पाँचौँ बलमा ललितले रिले हेकुरे र २४औँ ओभरको पहिलो बलमा सन्दीपले चाल्र्स अमिनीको विकेट लिए। २७औँ ओभरको चौथो बलमा कुशल मल्लले नोर्मान वनुलाई सातौँ विकेटका रूपमा नोर्मान वनुलाई आउट गर्दा पिएनजीको स्कोर ८२ रन मात्र थियो।

त्यसपछिका २ ओभरमा पिएनजीका ब्याट्सम्यान क्रिजमा टिक्ने प्रयास गरे पनि उनीहरूको त्यो प्रयासलाई ३०औँ ओभरमा लामिछानेले असफल पारे। ३०औँ ओभरको चौथो बलमा हिला भारेले चौका हाने पनि त्यस लगत्तैको बलमा उनी आउट भए।

३१औँ ओभरको चौथो बलमा मल्लले आफ्ना लागि दोस्रो र नेपालका लागि नवौँ विकेट लिए। जतिबेला स्कोरबोर्डमा पिएनजीको ९४ रन थियो। बाँकी रहेको १ विकेट सन्दीप लामिछानेले ३२औँ ओभरको अन्तिम बलमा झारे र पाहुना टिमलाई ९५ पभेलियन फर्काएका थिए ।

प्रतिक्रिया